तपाईँ सुन्दै हुनुहुन्छः

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

बेइजिङ ।  पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलबार एउटा स्कुल बस मानिसहरूको भिडसँग ठोक्किँदा ११ जना अभिभावक र विद्यार्थीहरूको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

राज्य प्रसारणकर्ता सिसिटिभीले बिहान ७ः२७ बजे (स्थानीय समय) शानडोङ प्रान्तको ताइआन सहरको विद्यालय पुग्दा ड्राइभरले गाडीको “नियन्त्रण गुमाएको” बताएको छ ।

सिसिटिभीका अनुसार बस सडक छेउमा अभिभावक र विद्यार्थीहरूको भिडसँग ठोक्किएको थियो ।

“हालसम्म ११ जनाको मृत्यु भएको छ, जसमध्ये छ जना अभिभावक र पाँच जना विद्यार्थी थिए”, प्रसारणकर्ताले जनाएको छ । साथै घाइते हुनेमध्ये एक व्यक्तिको अवस्था “गम्भीर“ रहेको र अन्य १२ जनाको अवस्था सामान्य रहेको बताएको छ ।

सामाजिक सञ्जालमा प्रसारण भएको फोटो र भिडियोमा रगतले लतपतिएका मानिसहरू खैरो बस नजिकै सडकमा लडेको देखाइएको छ ।

ड्राइभरलाई स्थानीय प्रहरीले पक्राउ गरेको र घटनाको अनुसन्धान भइरहेको सिसिटिभीले जनाएको छ ।

कमजोर सुरक्षा मापदण्ड र अव्यवस्थित चलाएका कारण देशमा घातक सडक दुर्घटना बारम्बार हुने गरेका छन् ।

गत जुलाईमा चीनको  मध्य सहर चाङ्सामा एउटा गाडी पैदल यात्रीहरूसँग ठोक्किँदा आठ जनाको मृत्यु र पाँच जना घाइते भएका प्रहरीले जनाएको थियो ।
रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button