पर्सामा पर्यटन प्रवर्द्धन ओझेलमा
वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जसहित प्रचुर प्राकृतिक श्रोत साधन, ऐतिहासिक तथा धार्मिक स्थल भएर पनि पर्सा जिल्ला पर्यटन प्रवर्द्धनमा पछाडि पर्दै आएको छ ।
पर्यटन प्रवर्द्धनका लागि प्रचुर सम्भावना रहेको यस जिल्लामा सरोकारवाला निकाय तथा जनप्रतिनिधिहरूले पर्यटन प्रवर्द्धनमा ठोस काम गर्न नसक्दा पर्यटनको प्रचुर सम्भावना भएर पनि पर्सा जिल्ला ओझेलमा परेको छ ।
वीरगञ्ज लगायत पर्साको पश्चिमी भेग ठोरी, जिरा भवानी, पटेर्वासुगौली, छिपहरमाई, पर्सागढी, सखुवाप्रसौनी, कालिकामाई जस्ता पालिकाहरूको ऐतिहासिक, धार्मिक, पौराणिक महत्वका धेरै स्थान भएर पनि प्रचार प्रसारको अभावमा धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा निकै पछाडि परेको छ ।
वीरगञ्जको गहवामाई मन्दिर, घडिअर्वा पोखरी, पिपरा मठ, विन्दवासिनी मन्दिर, भिस्वा बौद्ध स्तुपा सँगै वीरगन्जसँग जोडिएको पर्सा राष्ट्रिय निकुञ्ज, निकुञ्जसँगै रहेका राष्ट्रिय बन तथा निकुञ्ज क्षेत्रका पहाड, खोला, गुफा, झरना, पार्क, बजार तथा विभिन्न मनमोहक दृश्यलाई एकीकृत रुपमा समेटेर पर्यटन प्रवर्द्धनका कार्यक्रमतर्फ स्थानीय पालिकाले सामूहिक प्रयास गर्न नसक्दा यस क्षेत्रको विकासमा समेत नकारात्मक प्रभाव परेको छ ।
पर्साको एक महिने भाठा मेलामा निकुञ्ज भित्र पर्ने दुग्धेश्वरनाथ महादेवको पूजा आराधनाका लागि भारतसँगै पर्सासँग जोडिएका मकवानपुर, चितवन, बारा, रौतहटबाट समेत हजारौँको सङ्ख्यामा धार्मिक पर्यटकहरू आउने गर्दछन् ।
तराइको जिल्लामा निकुञ्जभित्र टाकुरोमा भव्य शिव मन्दिर रहेको र त्यहाँको वातावरण अत्यन्तै मनमोहक हुँदा समेत त्यस क्षेत्रको प्रचार प्रसार हुन नसक्दा पर्यटक प्रवर्द्धनमा प्रभाव नपरेको वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरूले बताएका छन् ।
उता छिपहरमाई गाउँपालिकाको वडा नम्बर ५ बंजारी स्थित रहेको छिपहरमाई मंदिरसँग रहेको ४ वटा पोखरीको मनमोहक दृश्य र हरेक वर्ष बडा दसैँको अवसरमा लाग्ने दश दिने मेला, तथा चैते दशैं मेलामा समेत पर्यटकहरू आउने गरेको भए पनि त्यस क्षेत्रको विकासमा स्थानीय पालिकाले ध्यान नदिँदा पर्यटन क्षेत्रको विकास हुन सकेको छैन ।
यसैगरी जिराभवानीमा लाग्ने ५ दिने मेलामा भारत विहारको सिक्टा, भेलवा, नरकटियागञ्ज, मेनाटड, बेतिया, मोतिहारी, पटना, रक्सौल तथा बारा, पर्साका हजारौँ दर्शनार्थीहरु आउने गर्दछन् ।
यता पर्सा गढीको आफ्नै इतिहास छ । अङ्ग्रेजहरूसँग लडेर चौधरीले ब्रिटिस सैनिकलाई हराएको इतिहास पर्सा गढीले बोकेको छ । त्यसैगरी वीरगञ्जको अलौ ऐतिहासिक स्थल हो । राणाकालमा अलौ पर्वको नामले इतिहासमा अंकित यो क्षेत्रको समुचित विकास हुन सकेको छैन । अहिले वीरगञ्ज महानगरपालिकाले अलौको ऐतिहासिक पक्ष र महत्वको बारेमा संग्रालय निर्माण गर्ने तयारी थालेको छ ।
त्यसैगरी पर्साको सखुवाप्रसौनी गाउँपालिकामा रहेको प्राचीन तथा ऐतिहासिक पारसनाथ मन्दिर, कालिकामाई गाउँपालिकामा रहेको ऐतिहासिक कालिकामाई मन्दिर, ठोरीको सिता गुफासँगै चुरेको सेतो पहाडले त्यस क्षेत्रमा पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना भए पनि प्राकृतिक मनोरम स्थलको संरक्षण, सम्वर्द्धनसँगै धार्मिक पर्यटनलाई एकीकृत रुपमा समेटेर अगाडी बढ्न नसक्दा पर्सा जिल्लामा पर्यटन प्रवर्द्धनमा ठोस उपलब्ध हुन नसकेको मधेश विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्यले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्