तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित चार मुलुकका राजदूतको संसदीय सुनुवाइ

काठमाडौँ । संसदीय सुनुवाइ समितिले आज इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ ।
समितिको सिंहदरबारमा बसेको बैठकले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित राजदूत डा.नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि प्रस्तावित राजदूत रीता धिताल र पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलको संसदीय सुनुवाइ गरेको हो ।
संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्नुभयो । सो क्रममा प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाएको देश र नेपाल सरकारबीचको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन पहल गर्ने, नागरिक स्तरको सम्बन्ध विस्तार, कृषि, प्रविधि, लगानी र पर्यटन लगायतका क्षेत्रमा भूमिका खेल्ने लगायतका कार्ययोजनाबारे समितिलाई जानकारी गराउनुभयो ।
इजरायलको राजदूतमा प्रस्तावित प्राध्यापक. धनप्रसाद पण्डितले आफू राजदूतमा नियुक्त भएमा नेपाल सरकारको नीति, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय सन्धि सम्झौता र राष्ट्रको हितका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मलेसियाको राजदूतमा प्रस्तावित डा.नेत्रप्रसाद तिमल्सिनाले नेपालको प्रमुख श्रम गन्तव्य रहेको मलेसियासँगको श्रम सम्झौता कार्यान्वयनमा ल्याउन केही चुनौती रहेको भन्दै त्यसलाई कूटनीतिक हिसाबले समाधान गर्नुपर्ने सुझाव दिनुभयो ।
पाकिस्तानका लागि प्रस्तावित राजदूत रीता धितालले कार्ययोजना प्रस्तुत गर्दै नेपालको समग्र राष्ट्रिय हितलाई प्रवद्र्धन गर्दै दुई देशबीचको सम्बन्धको आयामहरूलाई थप सुदृढ र विस्तारित गर्न प्रयास केन्द्रित गर्ने बताउनुभयो ।
पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धि तथा पारस्परिक सहयोगका माध्यमबाट नेपालको आर्थिक समृद्धि पहिल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसअघि, समितिले आइतबार चीनका लागि प्रस्तावित राजदूत डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधर, जर्मनीका लागि प्रस्तावित राजदूत डा.शैल रुपाखेती र भारतका लागि प्रस्तावित राजदूत डा. शङ्कर शर्माको संसदीय सुनुवाइ गरेको थियो ।
गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।
सरकारले भारतका लागि डा. शङ्कर शर्मा, चीनका लागि प्राध्यापक डाक्टर कृष्णप्रसाद ओली, संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलङ्का र रीता धिताललाई पाकिस्तानको लागि आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
यसैगरी, सरकारले नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, सनिल नेपाल स्पेन, डाक्टर शैल रुपाखेती जर्मनी, जङ्गबहादुर चौहान रुसी महासङ्घ, रमेशचन्द्र पौडेल कतार, सुम्निमा तुलाधर डेनमार्क, डा नेत्रप्रसाद तिमिल्सिना मलेसिया र प्रकाशमणि पोखरेललाई पोर्चुगलका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button