तपाईँ सुन्दै हुनुहुन्छः

झापामा मिटर ब्याजसम्बन्धी ९८ उजुरी दर्ता

झापा । झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरूमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोगले प्रथम पटक सूचना सार्वजनिक गरेको मिति २०८१–०२–११ गतेदेखि मिति २०८१–०४–०४ गतेसम्ममा उक्त उजुरी परेका हुन् । झापामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको प्रतिनिधि रहेको संयन्त्र गठन भएको छ ।
जसलाई आयोगले सूचना आह्वान गरेपछि परेका उजुरी उपर आवश्यक छलफल तथा फर्छ्यौट गर्ने अधिकार रहेको सहायक प्रजिअ नेपालले बताउनुभयो । “तीस वर्षभन्दा पहिले अनुचित लेनदेन भएकादेखि हालसालै अनुचित लेनदेन भएका उजुरी परेका छन् । २० हजार देखि ८३ लाखसम्म अनुचित लेनदेन भएको दाबीसहित उजुरी आएका छन्,” उहाँले भन्नुभयो ।
छिट्टै संयन्त्रको बैठक बसी छलफलका लागि दुवै पक्षलाई बोलाई उजुरी सम्बन्धमा आवश्यक निर्णय गर्ने काम सुरु गरिने सहायक प्रजिअ नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button