तपाईँ सुन्दै हुनुहुन्छः

बुटवल उद्योग वाणिज्य सङ्घसँग बीमासम्बन्धी छलफल एवम् अन्तरक्रिया

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने भएकाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुने बताउनुभएको छ ।
नेपाल बीमा प्राधिकरणद्वारा आज बुटवलमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीसँग आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने हुनाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुन्छन्, प्राधिकरणले पनि नजिकबाट नियमन गरिरहेको हुन्छ ।”
बीमितले आफूले लिएको बीमालेख राम्रोसँग पढ्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “बीमक, बीमित र अन्य पक्षको साझेदारीबाट नै बीमाको प्रवर्द्धन हुन्छ, प्राधिकरणले सम्बद्ध सबैको भावना समेटेर नीति निर्देशिका बनाउने गरेको छ, उद्योगीहरूको समस्या समाधान गर्न प्राधिकरण सधैँ तत्पर छ ।” अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका लागि सरकारसँग पहल भइरहेको जानकारी दिनुभयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बीमा गर्दा सहज हुने तर दाबी भुक्तानी पाउन कठिन हुने हुनाले त्यसलाई सरलीकरण गर्नुपर्ने र आफूले रोजेको जोखिमको मात्र बीमा गर्न पाउने व्यवस्था हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा दाबीलाई सरल तुल्याउँदै लगिएको, बीमा कम्पनीमा छिटो प्रतिवेदन प्राप्त होस् भनेर बीमा सर्भेयरलाई सङ्ख्या तोकेर काममा लगाउने व्यवस्था गरिएको र बीमादरलाई समयानुकूल बनाउन परिमार्जन गरिएको स्पष्ट गर्नुभयो ।
निर्देशक सुवेदीले हुलदङ्गा लगायतका बीमालाई स्वेच्छिक बनाउन र प्रहरी मुचुल्का तथा प्रहरी प्रतिवेदनलाई डिजिटल गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरूले बीमा दाबी प्रक्रियालाई सरल तुल्याउनुपर्ने, हुलदङ्गा बीमालाई अनिवार्य नगरी स्वेच्छिक बनाउनुपर्ने, तेस्रो पक्ष बिमामा दायित्व रकम बढाउनुपर्ने, मोटर बिमामा ह्रास कट्टीलाई न्यून गर्नुपर्ने, प्रहरी मुचुल्का र प्रहरी प्रतिवेदनमा देखिएको समस्या समाधान गर्नुपर्ने लगायतका विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लगायतका पदाधिकारी, उद्योगी व्यवसायी, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश र शाखा कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button