तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले कवाडी नदी थुनियो: आसपासका बस्तिमा सतर्कता अपनाउन आग्रह 

बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर २ रुम्दिमा पहिरोले कवाडी नदी थुनिँदा स्थानीय बस्तीहरू जोखिममा परेका छन् ।

शुक्रवार बिहान करिब १० बजेको समयतिर रुम्दिमा लागेको सुख्खा पहिरोले कवाडी नदी थुनिँदा जिल्लाको हिमाली गाउँपालिकाका २,४ र ५ लगायतका अधिकांश बस्तीहरु डुबानको उच्च जोखिममा परेको हो।

पहिरोले खोलामा एक्कासी अत्यधिक मात्रामा पानीको बहाव घटेपछि स्थानीयबासी त्रसित हुँदै प्रहरीलाई खबर गर्न पुगेपछि त्यसबारे अध्ययन गर्दा पहिरोले नदी थुनिएको पाइएको र सुख्खा पहिरोले थुनिएको खोलामा करिब १२ बजेसम्म केही पानीको सतह बढेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

पहिरोले थुनिँदा खोलामा करिब ८० प्रतिशत घटेको पानीको सतह अहिले केही बढेपनि जोखिम भने कायमै रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बिन्द्रसिंह कार्कीले बताउनुभयो । अहिले प्रहरीको टोली पनि सम्बन्धित क्षेत्रमा खटिएको र आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै हिमाली गाउँपालिकाले पनि रुम्दिमा लागेको पहिरोले कवाडी खोला थुनिएपछि आसपासका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कवाडी र कर्णाली नदिमा कुनै पनि समयमा पानीको बहाव बढ्न सक्ने हुँदा आसपासका बासीन्दाहरुलाई सजग रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button