तपाईँ सुन्दै हुनुहुन्छः

थारु महिलाका लागि स्नान गर्न चार ठाउँमा घाट निर्माण गरिँदै

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ मा थारु समुदायका महिलाहरूलाई स्नान गर्नका लागि चार ठाउँमा घटुवा (घाट) निर्माण गरिने भएको छ ।

बलुवा नदीका चार ठाउँमा व्यवस्थित तरिकाले घाट निर्माण गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ । थारु समुदायमा अन्तिम संस्कार९दाहसंस्कार० का लागि मलामी गइसकेपछि नदीमा महिलाले सामूहिक रुपमा स्नान गर्ने चलन रहेको छ । नदीको खुला ठाउँमा महिलाले स्नान गर्नुपर्ने र लुगा फेर्नुपर्ने अवस्था रहेकाले त्यसलाई व्यवस्थित गर्नका लागि घाट निर्माण गर्न लागिएको वडाध्यक्ष बाबुराम चौधरीले बताउनुभयो । 

“बन्जरीया, सिंहपुर, बालुवाफाँटा, सिंहपुर राना टोलमा घाट निर्माण गर्नका लागि योजना अघि सारेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले प्रत्येक घाट निर्माणका लागि रु दुई लाखका दरले बजेट विनियोजन गरेको छ, घाट निर्माण गर्न त्यस बजेटले नपुग्ने भएकाले थप बजेटका लागि नगरपालिकामा छलफल चलाएका छौँ ।” 

सामुदायिक वनहरूसँगको लागत साझेदारीमा घाट निर्माणका लागि सहकार्य र छलफल पनि भइरहेको उहाँले उल्लेख गर्नुभयो । एक घाट निर्माणका लागि कम्तीमा रु पाँच लाख जतिको खर्च लाग्ने उहाँको भनाइ छ । उहाँका अनुसार घाटमा खुट्किलासँगै महिलालाई लुगा फेर्ने व्यवस्थित कोठा निर्माण लगायतको कार्य हुनेछ । वर्षातको समय सकिएपछि घाट निर्माणको कार्य प्रारम्भ हुने बताइएको छ ।

महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले वनको आयले भ्याउनेसम्मको लागत साझेदारीमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । घाट निर्माणले महिलालाई खुला ठाउँमा लुगा फेर्नुपर्ने बाध्यताबाट छुटकारा मिल्ने उहाँले उल्लेख गर्नुभयो । यसैगरी वडा कार्यालयले वडाका आठ ठाउँमा थारु समुदायको भुइयाँरी (देउथान) निर्माणको कार्य अगाडि बढाएको छ । 

आठ वटै देउथानका लागि रु ३५ लाख बढी रकम खर्च गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो । “केहीको निर्माण कार्य पुरा भएको छ”, उहाँले भन्नुभयो, “केही निर्माण पुरा हुने चरणमा रहेका छन् ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button