तपाईँ सुन्दै हुनुहुन्छः

गुजरातमा मनसुनी  बाढीका कारण २८ जनाको मृत्यु

अहमदाबाद । भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ।

भारी बर्षाका कारण नदीको बहावहरू बढेका छन् भने नदी नजिक बसोबास रहेका ३० हजार भन्दा बढी मानिसहरू घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।  

गुजरात सरकारले बुधबार १३ जनाको बाढीमा डुबेर मृत्यु भएको तथा बाँकीको घर वा रूखहरूले पुरिएर मृत्यु भएको जनाएको छ। इन्डियन एक्सप्रेसले राज्यभरि समाचार तयार पार्दासम्म बाढीका कारण ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

स्रोतका अनुसार विपद्बाट करिब एक हजार ८ सय ५६ जनालाई उद्धार गरिएको तथा राहत कार्यका लागि सेनाका अधिकारीहरू तैनाथ गरिएको छ। विपद्का कारण ऊर्जा तथा बिद्युत् सेवा प्रभावित हुँदा करिब एक हजार गाउँहरू बिद्युतविहीन भएको जनाइएको छ।  

विपद् अधिकारीहरूले सार्वजनिक गरेको तस्बिर तथा भिडियोमा उनीहरूले बाढीमा फसेका मानिसहरूलाई बचाउनका लागि प्रयास गरिरहेको देखाइएको छ। विज्ञहरूले जलवायु परिवर्तनले मौसमको ढाँचा परिवर्तन गर्दा चरम मौसमी दुर्घटनाको सङ्ख्या बढाइरहेको जनाएका छन्।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button