आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, माथी विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले प्रस्तुत गर्नुभएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, माथी विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रम,बजेट पेश र छलफलका लागि पर्याप्त समय उपलब्ध गराउन, सरकारलाई पर्ने आर्थिक दायित्व व्यवस्थित गर्न विधेयक संशोधनको आवश्यक परेको बताउनुभयो ।
बैठकमा विद्येयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले बजेट प्रणालीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता भन्नुहुँदै योजनाहरूको अध्ययन, आवश्यकता पहिचान, प्राथमिकता निर्धारण गरेर मात्रै बजेट विनियोजन गर्नुपर्ने र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
अर्थमन्त्री पौडेलले सार्वजनिक ऋण लिने र खर्च गर्नुपर्ने सन्दर्भमा सरकार संवेदनशील हुनुपर्ने अवस्थामा रहेको पनि बताउनुभयो ।
यस्तै आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हैजा, डेंगी तथा जनस्वास्थ्यका चुनौतीलाई समाधानका लागि तीनै तहका सरकारसँगको समन्वयमा कार्यहरू अघि बढाइएको बताउनुभयो ।
स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक महत्वको विषयमाथि ध्यानाकर्षण सम्बन्धमा जवाफ दिनुहुँदै मन्त्रालयले संक्रमण फैलन नदिन विभिन्न संयन्त्र मार्फत निगरानी गरिरहेको र हाल सचेत हुनुपर्ने अवस्था रहे पनि जनस्वास्थ्यको सङ्कटकाल लगाउनुपर्ने अवस्था भने नभएको जानकारी गराउनुभयो ।
मन्त्री पौडेलले खानेपानी शुद्धीकरण तथा सरसफाई सम्बन्धी जनचेतना प्रवाह गरिएको र नीति निर्माण गरी जोखिमयुक्त स्थानका समुदायको पहिचान गरी संक्रमण नियन्त्रणका लागि खोपको समेत व्यवस्थापन गर्ने कार्यहरू अघि बढाइएको जानकारी गराउनुभयो ।
बैठकमा सांसद डा.तोसिमा कार्कीले “हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने” भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
सांसद कार्कीले सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराउनुहुँदै हैजाको वृहत् रुपमा निर्मूल गर्न देशभर खानेपानीमा अनिवार्य शुद्धीकरणको अभियान सञ्चालन गरी मापदण्ड लागु गर्नुपर्ने बताउनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक भोली बिहीबार दिनको १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्