तपाईँ सुन्दै हुनुहुन्छः

यातायात कार्यालय सुर्खेतद्वारा २७ करोड बढी राजश्व सङ्कलन

सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतले २७ करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले गएको आर्थिक वर्ष २०८०/०८१ मा २७ करोड २२ हजार ८ सय ६७ रुपैयाँ विभिन्न शीर्षक मार्फत राजश्व सङ्कलन गरेको हो ।

यो त्यस अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा १२ दशमलव ०८ प्रतिशतले बढी हो । उक्त आवमा २४ करोड ९ लाख २० हजार २ सय ४५ रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

कार्यालयले यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता सम्बन्धी दस्तुर, सवारी साधन कर, प्रशासनिक दण्ड जरिवाना, अन्य प्रशासनिक सेवा शीर्षकमा कर सङ्कलन गर्दै आएको छ । तीमध्ये सबैभन्दा बढी सवारी साधन करबाट राजश्व सङ्कलन गरेको हो । सवारी साधन करबाट २० करोड ८५ लाख ७४ हजार ५ सय ६४ रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै चालक अनुमति तथा सवारी दस्तुर शीर्षकबाट ५ करोड १६ लाख ७० हजार २ सय ४० रुपैयाँ, यातायात क्षेत्रको आम्दानी ७७ लाख ९० हजार ९ सय ९० रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना १८ लाख ५१ हजार ४ सय ५५ रुपैयाँ र बेरुजु असुली १ लाख ३५ हजार ६ सय १८ रुपैयाँ रहेको कार्यालय प्रमुख मदनकुमार गिरीले जानकारी दिनुभयो ।

उहाँले यातायात क्षेत्रको अपेक्षित राजश्व वृद्धिका लागि कुनै एक पक्षको मात्र सुधार नभई बहुपक्षीय कानूनी तथा प्राविधिक सुधारको खाँचो रहेको औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button