जाइका नेपालको स्वयंसेवक कार्यक्रम : सामाजिक, आर्थिक रूपान्तरणमा महत्वपूर्ण
काठमाडौँ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकि मिजुकीले जापानी स्वयंसेवक कार्यक्रमले नेपालको सामाजिक आर्थिक विकाससँगै नेपाल र जापानका नागरिक बीच सम्बन्ध विस्तार गर्दै आएको बताउनुभएको छ ।

जापानी स्वयंसेवकका रुपमा सन् २०२४ मा नेपालका विभिन्न क्षेत्रमा खटिनुभएका स्वयम् सेवकहरूको स्वागतका लागि जाइकाद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा जाइका नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकि मिजुकीले आफूलाई दिइएको काम पूर्ण समर्पणको भावनाका साथ पुरा गर्न स्वयम् सेवकहरूलाई आग्रह गर्नुभयो ।

त्यस अवसरमा नेपाल सरकारका प्रतिनिधिका रुपमा कार्यक्रममा उपस्थित हुनुभएका अर्थ मन्त्रालयका उपसचिव सुनिलकुमार यादवले जाइकाको स्वयम् सेवक कार्यक्रमले नेपालको विभिन्न क्षेत्रमा सकारात्मक रुपान्तरणका लागि योगदान पुर्याउँदै आएको बताउनुभयो ।

कार्यक्रममा जाइका नेपालका पूर्व प्रमुख प्रतिनिधि ओकुबु आकिमित्सुले नेपालसँगको साझेदारीलाई जापान सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको र त्यो आगामी दिनमा निरन्तर रहने बताउनुभयो ।
जापानी स्वयम् सेवकका रुपमा ललितपुरको लेलेमा कार्यरत यिनोमोतो मिकीले आफ्नो कार्यक्षेत्र लेलेलाई कृषिमा बलियो बनाउने गरी जापानी अनुभव र नेपाली अनुभव आदानप्रदान गरी काम गरिरहेको र त्यसबाट राम्रो प्रतिफल पनि आउन थालेको अनुभव सुनाउनुभयो ।

यस्तै कार्यक्रममा जाइका नेपालकी सह कार्यक्रम प्रबन्धक कल्पना राना, जाइका नेपालका वरिष्ठ प्रतिनिधि यिजुका केनिचिरो लगायतले जापानले विगत ५४ वर्ष देखि जापानी स्वयम् सेवकहरूको माध्यमबाट नेपालको कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइको क्षेत्रमा स्थानीय स्तरमा समुदायसँग मिलेर काम गर्दै आएको र त्यसले नेपालको सामाजिक तथा आर्थिक विकासमा बल पु¥याउँदै आएको बताउनुभयो ।
जाइका नेपालबाट हाल सम्म नेपालको विभिन्न क्षेत्रमा १ हजार ४ सय ४९ जना स्वयम् सेवकले काम गरिसकेको जाइकाले जनाएको छ ।

कोरोनाका कारण २०२० देखि ३ वर्ष सम्म जापानी स्वयम् सेवक कार्यक्रम स्थगित भएको र गत वर्ष देखि पुनः सुरु भई अहिले कार्यान्वयनमा रहेको जाइका नेपालकी जनसम्पर्क अधिकृत ब्रिन्दा सिंहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्