तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता छैन,व्यवसाय दर्ता गर्न पुर्जा छैन,पुर्जा बिना विद्युत् मिटर जडान छैन”

नवलपरासी,पश्चिम् । आधारभूत आवश्यकताले समेत वञ्चित भएका पश्चिम नवलपरासीको सुस्ताका नागरिक एउटा मात्रै होइन्न सयौँ समस्या सँग जुधिरहेका छन् ।दुर्गम ग्रामीण भेग अभाव,पीडा र अनेकौँ उल्झनमा जीवन व्यतीत गरिरहेका सुस्ता पारीका नागरिकले अनेक बाधा अड्चन भोग्दै आइरहेका छन् ।राज्य के हो देश के हो मातृभूमि के हो बुझ्न एकपटक सुस्ता पुग्नै पर्छ।

नारायणीपारीको सुस्ता गाउँका अधिकांश सुस्ताबासी सँग नागरिकता र लालपुर्जा छैन । लालपुर्जा नहुँदा व्यापार व्यवसाय दर्ता पनि हुन सकेको छैन ।लालपुर्जा (जग्गाधनी पुर्जा) नहुँदा उनीहरूले विद्युत् मिटर समेत जडान गर्न पाएका छैनन् ।गाउँ घरमै सानोतिनो व्यवसाय गरेर जीविका समेत चलाउन लालपुर्जाकै कारण व्यवसाय दर्ता गर्न बाट वञ्चित भएपछि यहाँ बाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले यस विषयमा पहल गरेका छन् ।

बिहीबार जिल्लाबाट प्रतिनिधित्व गर्ने चारै जना प्रदेश सभा सदस्यहरु देवकरण कलवार सन्तु, विश्वप्रेम पाठक, खड्ग बस्नेत र वैजनाथ कलवारले लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापन पत्र बुझाउँदै गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

“नागरिकता नहुँदा लालपुर्जा बनेन,पुर्जा नहुँदा बिधुत मिटर जडान र व्यवसाय दर्ता हुँदैन ।नेपाली भूमिको रक्षा गरेर बसेकाहरू सँगै न लालपुर्जा छ न नेपाली हुनुको प्रमाण नै यो भन्दा पीडा के हुन सक्छ,त्यसैले मान्यज्युहरु मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका हौ”सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले भन्नू भयो ।

भूमि आयोग गठन भएपनी सुस्तामा नापी नभएका कारण सुस्ताबासी पुर्जा पाउन बाट वञ्चित भएको जैसवालले बताउनु भयो ।लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले अब बन्ने भूमि आयोग मार्फत सुस्ताको जगा नापजाँचका लागि लुम्बिनी प्रदेश सरकारले पहल गर्ने आश्वासन दिनुभएको जैसवालले बताउनु भयो ।

पुर्जा नभएका नागरिकलाई स्थानीय तहको सिफारिसको आधारमा घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ताको अनुमति दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको हो ।नागरिकता र पुर्जा नभएकै कारण राज्यले प्रदान गर्ने सेवा सुविधाबाट नागरिक वञ्चित हुन नहुने प्रदेश सभा सदस्यहरूले बताएका छन् ।

नारायणीपारीको सुस्ता गाँउमा झन्डै ३ सय बढी परिवारको बसोबास छ ।यहाँका नागरिक राज्यको पहुँच बाट समेत टाढा छन् ।उनीहरू एउटा सीमान्तकृत वर्गको रुपमा परिभाषित हुन बाध्य छन् ।

अहिले नारायणी नदी पारी सुस्ता गाउँ जोड्ने गरी नेपालकै लामो झोलुगें पुल निर्माण भएपछि उनीहरू आफ्नै भूमिसँग जोडिएका छन् ।पुलकै माध्यमबाट पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिधुतिकरण हुँदैछ ।तर मिटर जडान गर्न कतिपय सँग पुर्जा छैन नागरिकता छैन ।यो पिडाले उनीहरूलाई सताइरहेको छ ।उनीहरू भन्छन् कमसेकम हामीलाई नागरिक हुनुको अधिकार त देऊ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button