तपाईँ सुन्दै हुनुहुन्छः

अहिलेको सरकारले जनतामा आशावादीता जगाउने गरी काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले जनतामा निराशा नुहुने र आशावादीता जगाउने गरी काम गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले सरकारलाई कुनै गल्ती गर्ने, अन्यौल सिर्जना हुने र प्रतिफल नदिने गरी काम गर्ने छुट नरहेको भन्दै समस्याको छिटो समाधान कसरी गर्न सकिन्छ भन्नेमा दत्तचित्त भएर लागेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधानको रक्षा र यसको कार्यान्वयनको पक्षमा सरकार स्पष्ट रहेको भन्दै देश र जनताको पक्षमा काम गर्दै अगाडी बढिरहेको अवस्थामा पनि जनतामा असन्तुष्टि बढाउन र भड्काउन खोजिएको, राजनीतिक दलप्रतिको असन्तुष्टि र परिवर्तन मन नपराउनेहरुले समस्या सिर्जना गर्न लागिरहेको बताउनुभयो ।

उहाँले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताउनुभयो । प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको जनाउनुभयो ।
घरजग्गा कारोबार क्रमशः वृद्धि हुँदै गएको र पूँजी बजारमा उल्लेखनीय सुधार आएको छ भने निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“सरकारले जनतामा रहेको निराशा हटाउँदै राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने छ । राजनीतिमा अस्थिरता र जनतामा निराशा राखेर हामी ती काम पूरा गर्न सक्दैनौँ । ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिल्नुपर्ने कारण यही हो ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न हामीले लिएको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता या देखावटी होइन । हामीले भ्रष्टाचार नियन्त्रण गर्ने कामलाई क्षणिक प्रचारबाजीको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएरै टुङ्गोमा पुर्‍याउनुपर्छ । भ्रष्टाचार नियन्त्रण होहल्लाको विषय मात्रै बन्नु हुँदैन, कानुनी अनुसन्धान र नतिजामुखी हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।”

संसद्मा सांसदहरुले उठाएका प्रश्नहरूको प्रधानमन्त्री ओलीले जवाफ दिने क्रम जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button