तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा तीन सय ७७ उद्योग बन्द

जनकपुरधाम, । धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन् ।

गत आवमा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिनुभयो । उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिब नौ हजारभन्दा बढी कामदार बेरोजगार भएका छन् ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ एक हजार १२ उद्योग दर्ता, दुई हजार ५९ उद्योग नवीकरण, पूजीवृद्धितर्फ एक सय ६४, नामसारीतर्फ १९, ठाउँसारीतर्फ २४, शाखा थप १३, प्रतिलिपि दुई सय २५, नामपरिर्वतन ६९ तथा आयात एवम् निर्याततर्फ ५४ व्यवसाय रहेका छन् ।

त्यसैगरी उद्योगतर्फ दर्ता आठ सय पाँच, नवीकरणतर्फ नौ सय ७८, पूजीवृद्धितर्फ ५९, नामसारी ५६, ठाउँसारी पाँच, प्रतिलिपितर्फ एक सय ६, फर्मको नाम परिवर्तन ४३ तथा उद्देश्य थप १२ वटा रहेको सो कार्यालयले जनाएको छ । सोही आर्थिक वर्षमा कार्यालयले उद्योग दर्ता तथा नवीकरण बापत रु ५७ लाख २३ हजार राजस्व सङ्कलन गरेको प्रमुख यादवले बताउनुभयो ।

गत आर्थिक वर्षमा उद्योग तथा वाणिज्य बन्द हुँदा जनकपुरका विभिन्न स्थानका करिब एक सय सटर बन्द भएको तथा उद्योगी व्यवसायी पलायन भएका थिए । हाल धनुषामा साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ५१ तथा घरेलु उद्योग एक हजार ५८ सञ्चालनमा रहेका छन् । ती उद्योगमा महिला र पुरुष गरी करिब सात हजार कामदार प्रत्यक्षरुपमा लाभान्वित हुँदै आएको कार्यालय प्रमुख यादवले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button