तपाईँ सुन्दै हुनुहुन्छः

झापामा अस्पतालको बेडबाटै थुनुवा फरार

भद्रपुर(झापा) । झापामा एक थुनुवा अस्पतालको बेडबाटै हतकडी फुस्काई फरार भएका छन् ।

लागुऔषध मुद्दामा पक्राउ परेका दमक नगरपालिका– ३ भुटानी शरणार्थी शिविर सेक्टर जी थ्री भई हाल बिर्तामोड– १ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई फरार भएका हुन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडको हिरासतमा रहेका आरोपी राईलाई हिजो अपराह्न पेट दुखेर बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएकोमा उनी बेडबाटै फरार भएको प्रहरीले जनाएको छ । जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश बिस्टको कमान्डमा खोजतलास भइरहेको जनाइएको छ ।

यही आइतबार बिर्तामोड–१ पश्चिम बस स्ट्यान्डमा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले राईलाई १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो । त्यसपछि उनलाई झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद थप गरी आवश्यक कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button