कमला पुल नभएपछि जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारणहरू

जनकपुरधाम । धनुषा तथा सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुलको निर्माण नहुँदा सर्वसाधारणहरू जोखिमपूर्ण रुपमा यात्रा गर्न बाध्य रहेका छन् ।
१३ वर्ष अगाडी कमला नदिमा पुलको निर्माण भएपनि उद्घाटन हुनु अगाडी नै सिरहा तर्फका दुई वटा पिलर भाँचिएपछि हुलाकी राजमार्ग भएर आवत जावत गर्ने जनताको चाहना पुरा नभएपछि भासिएको पुलमा बाँसको लचका एवं भर्याङ मार्फत जोखिमपूर्ण अवस्थामा हिँड्न बाध्य रहेका छन् ।
हुलाकी सडक आयोजना अन्तर्गत निर्माण भएको सो पुलको निर्माण गर्ने कम्पनी माथी मुद्दा दायर गर्ने काम भएको छ । अदालतमा मुद्दा भएका कारणले पुलको निर्माण हालका लागि अवरुद्ध नै रहेको छ । भएको पुल पनि अहिलेको मापदण्ड अनुसार नभएकाले मर्मत भएपनि चल्ने अवस्था नभएको सिरहा नगरपालिकाका इन्जिनियर प्रवीण यादवले जानकारी दिनु भएको हो ।
खास गरेर वर्षाको समयमा सर्वसाधारणहरू ढुङ्गाको प्रयोग गरेर वा कमला पुल भन्दा तीन किलोमिटर दक्षिण तर्फ निर्माण भएको झोलुङ्गे पुल भएर जोखिमपूर्ण रुपमा यात्रा गर्ने गरेका छन् । विशेष गरेर भासिएको पुलमा नै बाँसको भर्याङ बनाएर जोखिमपूर्ण रुपमा यात्रा गर्दा कतिपय व्यक्तिहरू लडेर घाइते पनि भएका छन् ।
बाँसको भर्याङ वाट जोखिमपूर्ण यात्रा गर्दा कतिपय पैदलयात्रीहरु लडेर घाइते पनि हुने गरेको स्थानीय बासी विश्वेश्वर यादवले जानकारी दिनु भयो । बाढीको समयमा कमला वारपार गर्नका लागि सर्वसाधारणलाई ठूलो युद्ध जिते जस्तो नै हुने गरेको छ । यता भासिएको कमला पुलको विकल्पमा नयाँ पुलको निर्माण हुनु पर्ने माग सो क्षेत्रका जनताहरूले सङ्घर्ष गर्दै आएको छ ।
नयाँ कमला पुलको निर्माणका लागि कमला पुल निर्माण सङ्घर्ष समितिले वर्षौँ देखि नै आन्दोलन गर्दै आएको छ । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी १० जना अभियान्तीहरुले हिजो देखि आमरण अनसनमा बस्नु भएको छ ।

कमला पुलको निर्माण नभएपछि सिरहा तथा सप्तरी जिल्लाबाट मधेश प्रदेशको राजधानी जनकपुरधाम आउनका लागि पूर्व पश्चिम लोक राजमार्ग वा भारतको भूमि प्रयोग गरेर आउनका लागि विवश भएका छन् । कमला पुलको निर्माण हुँदा ती दुई जिल्लाबाट जनकपुरधाम आउनका लागि आधाले दूरी छोटिने अवस्था रहेको छ । पूर्वी धनुषाका जनताहरूको हाट बजार सिरहा जिल्ला नै भएकाले वर्षाको समयमा ठूलो कठिनाइको सामना गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्