जिरा भवानीका किसान व्यावसायिक भैंसीपालनतर्फ आकर्षित
वीरगञ्ज । पर्साको जिरा भवानी गाउँपालिकाका किसानहरू खेतीपातीसँगै व्यावसायिक रुपमा भैंसीपालनतर्फ आकर्षित भएका छन् ।
जिरा भवानी गाउँपालिका–२ वसन्तपुरमा ४० घरपरिवारले विगतमा परम्परागत रुपमा भैंसीपालन गर्दै आएकोमा हाल खेतीपातीसँगै व्यावसायिक रुपमा नै भैंसीपालन गर्दै आएका छन् । गाउँका करिब ७० मध्ये ४० घरपरिवारले भैंसीपालन गरिरहेका स्थानीय शङ्कर पटवारीले जानकारी दिनुभयो ।

यहाँका किसानहरुले प्रतिपरिवार ३० देखि ५० लिटरसम्म दूध उत्पादन गर्दै आएको र उत्पादित दूधलाई चिस्यान केन्द्रसम्म पुर्याएर विक्री वितरण गर्दै आएको स्थानीय शिक्षक ओम प्रकाश चौधरीले जानकारी दिनुभयो ।
गाउँघरमा किसानहरुले नगद, धान तथा चामल विक्रीबाट आयआर्जन गरी भैँसी खरिद बिक्री गर्ने तथा उन्नत जातका मुर्रा भैँसी खरिद गरी केही वर्षदेखि भैंसीपालनलाई व्यावसायिकता प्रदान गरेको शिक्षक चौधरीले बताउनुभयो ।
भैँसीपालन गर्न थालेपछि अहिले वसन्तपुरका किसानहरूको जीवनपद्धति बदलिएको छ । भैँसीपालनबाट आर्थिक अवस्था बलियो हुँदै गएका किसानहरुले वीरगन्जसम्म घर घडेरी जोडेका छन् । किसानहरुले उन्नत जातका भैँसी ब्याएपछि पाडा पाडी समेत विक्री गरी राम्रो आम्दानी गर्ने गरेको शिक्षक चौधरीले बताउनुभयो ।
किसानहरुले भैँसीको मलमूत्रबाट बनेको कम्पोष्ट मल पनि बिक्री गरेर दोहोरो आम्दानी लिने गरेका छन् । कम्पोष्ट मलबाट उत्पादन राम्रो हुने भएपछि किसानहरू घरमै आएर मल लैजाने गरेको शिक्षक चौधरीले जानकारी दिनुभयो ।
वसन्तपुर गाउँका अर्का किसान ध्रुपसागर खाँ थारुले गाउँ नजिकै सार्वजनिक जग्गा र गौचरण समेत रहेको र राष्ट्रिय वन क्षेत्रमा समेत भैँसी चरिचराऊ गर्न पाउने व्यवस्थाका कारण भैँसी पालन गर्न सहज भएको बताउनुभयो ।
ग्रामीण क्षेत्रमा आफ्नै खेतको पराल र गहुँको छ्वालीको साथै मिलमा धान कुट्दा निस्कने ढुटो समेत दानाको रुपमा प्रयोग हुँदा भैँसी पाल्न सहज भएको समेत किसान थारुले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्