तपाईँ सुन्दै हुनुहुन्छः

‘गुरुयोजना बनाएर सडक सञ्जालको काम अघि बढाउनुपर्छ’

विराटनगर । कोशी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ । सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकिकरण गरेर सडक सञ्जाल बनाउने गरि प्रदेश सरकारले तयारी सुरु गरेको हो ।

कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रादेशिक सडक र अन्य सडक गरेर करिब ६ हजार किलोमिटरको सडक सञ्जालको गुरु योजना बनाउन तयारी गरिएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज गुरुयोजना बनाउने छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नीति मजबुत बनाएर सडक सञ्जाल बनाउन जोड दिनुभयो ।

संघ र प्रदेश सरकारको आन्तरिक श्रोत खुम्चिँदै गएको अवस्थामा श्रोतलाई समेत मध्यनजर गरेर सडक सञ्जालको गुरुयोजना बनाउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले प्राथमिकतालाई निर्धारण गरेर मात्रै सडक बनाउनुपर्ने बताउँदै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै सडक बनाउने प्राथमिकता दिने परिपाटीलाई गुरुयोजनाले अन्त्य गर्ने बताउनुभयो ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोककुमार साहले अहिले करिब १० हजार किलोमिटर सडक पहिचान गरिएको भए पनि ६ हजार किलोमिटर सडकको मात्र प्राथमिकिकरणको आधारमा गुरुयोजना बनाउने तयारी गरिएको जानकारी दिनुभयो ।

प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रादेशिक सडक र अन्य सडक गरेर करिब १० हजार किलोमिटर सडक पहिचान गरिए पनि अब गुरु योजनामा ६ हजार किलोमिटर समेटेर तयारी गरिने र त्यसलाई पास गरेर अघि बढ्ने उहाँले बताउनुभयो । कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको आयोजनामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button