सुबोध स्मृति पत्रकारिता पुरस्कार गुप्तालाई
वीरगञ्ज । वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकको ३८ औँ वार्षिकोत्सवको अवसरमा आज एक कार्यक्रमबिच सुबोध स्मृति पत्रकारिता पुरस्कार पर्साकी महिला पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष गुप्तालाई प्रदान गरिएको हो ।
वार्षिक उत्सबको अवसरमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले रु ५१ हजार नगद राशि हस्तान्तरणसँगै दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले वीरगन्जको विकास र समृद्धिका लागि पत्रकारिता गर्न सञ्चारकर्मीहरूलाई आग्रह गर्दै महानगरले वीरगन्जका सञ्चारकर्मीको लागि ज्येष्ठ पत्रकार पेन्सन योजना र आपतकालीन कोष खडा गर्नुका साथै सञ्चारमाध्यमहरुलाई सहयोग पुर्याउने उद्देश्यले लोककल्याणकारी विज्ञापन समेत उपलब्ध गराउँदै आएको बताउनुभयो ।
नागरिक दैनिककी पर्सा सम्वाददाता समेत रहेकी विमला गुप्ता अहिले वीरगञ्जबाट पर्सा अनलाइन पत्रीका सञ्चालन गर्दै आउनुभएको छ ।
उक्त अवसरमा प्रतीक दैनिकमै कार्यरत ग्रामीण संवाददाता धर्मेन्द्र चौरसियालाई उत्कृष्ट सम्वाददाताको रुपमा पुरस्कृत गरिएको थियो ।
प्रतीक दैनिकका सम्पादक जगदिश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्