तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रसङ्घद्वारा गाजापट्टीमा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन अस्थायी युद्धविरामको आह्वान

जिनेभा। संयुक्त राष्ट्रसङ्घका सङ्गठनहरूले गाजापट्टीमा बालबालिकाहरुलाई पोलियो विरुद्ध दुई चरणको खोप अभियान सञ्चालन गर्न गाजामा चलिरहेको लडाइँमा प्रत्येक चरणका लागि सात दिनको युद्धविरामको आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य एवं बाल सङ्गठनहरूले यस महिनाको अन्त्यदेखि प्यालेस्टिनी क्षेत्रभरी खोप अभियान चलाउने विस्तृत योजनाहरू तयार पारेको बताएका छन् ।

तर यसका लागि चलिरहेको इजरायल र हमासबिचको लडाइँमा रोक लगाउन आवश्यक रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले बताएका छन् ।
डब्लुएचओ र युनिसेफले गाजापट्टीमा पोलियो भाइरस विरुद्ध दुई चरणको खोप अभियानको योजना बनाइरहेको जानकारी गराएका छन् ।
गत महिना जुन २३ मा गाजामा सङ्कलन गरिएका वातावरणीय निगरानी नमुनामा पोलियो भाइरस पत्ता लागेको घोषणा गरिएको थियो ।
“डब्लुएचओ र युनिसेफले द्वन्द्वका सबै पक्षलाई गाजापट्टीमा दुई चरणको खोप अभियानलाई अनुमति दिन प्रत्येक चरणमा सात दिनका लागि द्वन्दव रोक्न अनुरोध गर्दछ”, दुई एजेन्सीले आह्वान गरेका छन् ।
डब्ल्यूएचओका प्रवक्ताले प्रत्येक चरणका लागि सात दिनको युद्धविराम माग गरेको बताएका छन् ।
मानवीय विरामबिना यो अभियान सम्भव छैन । गाजापट्टी विगत २५ वर्षदेखि पोलियो मुक्त छ ।

“गाजापट्टीमा जनस्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने एक मात्र उपाय युद्धविराम हो। अभियानको प्रत्येक चरणमा संयुक्त राष्ट्रका एजेन्सीहरूले गाजाको स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर १० वर्ष मुनिका ६ लाख ४० हजार भन्दा बढी बालबालिकालाई नोवेल ओरल पोलियो खोप (एनओपिभी–२) को दुई थोपा प्रदान गर्नेछ”, डब्लुएचओ र युनिसेफले जनाएको छ ।
पोलियो भाइरस प्रायः ढल र दूषित पानीबाट फैलिन्छ र यो अत्यधिक सङ्क्रामक रोग हो । यसले पक्षाघात निम्त्याउन सक्छ र मुख्यतया पाँच वर्ष मुनिका बालबालिकालाई असर गर्छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button