तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा मन्त्रीहरुसंग कार्यसम्पादन सम्झौता

जनकपुरधाम । मधेश प्रदेश सरकारको कार्यक्षमता बढाउन लागि मुख्यमन्त्री सतिश कुमार सिंहले सबै मन्त्रीहरुसंग आज कार्यसम्पादन (करार) सम्झौता गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारमा रहेका १० जना मन्त्रीहरुसंग कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो ।

कार्यसम्पादन सम्झौतापछि पत्रकारहरुसंग कुरा गर्दै मुख्यमन्त्री सिंहले कार्यसम्पादन सम्झौताले प्रदेश सरकारले प्रदेशवासीका लागि गर्नु पर्ने सेवा तथा सुविधा सहितका सरकारका अन्य दायित्वका सवालमा गति आएर प्रदेशमा सुशासन कायम गर्नमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।

उहाँले सम्भवतः मधेश प्रदेशमा पहिलो पटक नै मुख्यमन्त्रीले सबै मन्त्रीहरुसंग कार्यसम्पादन सम्झौता गरेको बताउँदै यसले मन्त्रीहरूलाई मन्त्रालयको काम प्रति थप जिम्मेवार बनाउने आशा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री सिंहले भदौ १५ गतेभित्रमा सबै मन्त्रीहरूलाई वार्षिक कार्ययोजना मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेश गर्ने र ती कार्ययोजना अनुसार मन्त्रालयले काम गरेको छ वा छैन त्यसको तीन तीन महिनामा समीक्षा गरेर सुधारका लागि काम गरिने बताउनुभयो ।

एक प्रश्नको जवाफमा मुख्यमन्त्रीले राजनीतिक चर्चाको लागि कार्यसम्पादन सम्झौता नभईकन नतिजा दिनका लागि भएको बताउँदै अव मन्त्रीहरूले मन्त्रालयका सचिवसँग र सचिवहरूले विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्ने बताउनुभयो ।

मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रीमण्डलमा १ जना मन्त्री काम विशेषले मधेश प्रदेश बाहिर भएकाले पछि नै कार्यसम्पादन सम्झौता गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button