‘वर्तमान सरकारलाई जनचाहनाअनुरूप काम गर्ने अवसर र चुनौती छ’
वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले वर्तमान सरकारलाई जनचाहनाअनुरूप काम गर्ने अवसर र चुनौती दुवै रहेको बताउनुभएको थियो ।

पर्साको बहुदरमाई नगरपालिका–७ मा निर्माण सम्पन्न प्रवेशद्वारको आज एक कार्यक्रमबिच उद्घाटन गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि अलपत्र हुँदै आएको संघीय निजामती कर्मचारी ऐन फास्ट ट्र्याकबाट पारित गर्ने काम आफ्नो मन्त्रालयले अगाडी बढाएको बताउनुभयो ।
उहाँले निजामती कर्मचारी ऐन पारित भएपछि स्थानीय तहको बेतिथि अन्त्य हुने बताउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियन्त्रित गरी एक कार्यालयमा १ वर्षसम्म कामकाज गर्न ऐन बनाइने जानकारी दिनुभयो ।
मन्त्री गुप्ताले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको लागि ठोस कार्यक्रमका साथ अगाडी बढेको बताउँदै यसका लागि सरकारले काम शुरु गरिसकेको जानकारी दिनुभयो ।
उहाँले स्वागत द्वार निर्माणले बहुदरमाई नगरपालिकामा आउने पाहुनाहरूलाई स्वागत मात्र गर्ने नभई ग्रामीण क्षेत्रको सामाजिक, धार्मिक अवस्थाको पहिचान गर्न सहज हुने समेत दाबी गर्नुभयो ।
मन्त्री गुप्ताले सामाजिक उत्तरदायित्वलाई पुरा गर्ने जिम्मेवारी बोधसहित आफू अगाडी बढेको र यस क्षेत्रका सम्पूर्ण समस्याका बारेमा आफू चिरपरिचित भएको हुँदा समस्या समाधानका लागि प्रतिबद्ध रहेको समेत दाबी गर्नुभयो ।
बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंहासन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी पर्साका अध्यक्ष विश्वम्भर शर्मा, सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवाल, बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्मा कुशवाहा, लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्