नुवाकोट दरबार पुर्ननिर्माण गर्न चिनियाँ पक्ष कार्यक्षेत्रमा

नुवाकोट । भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबार सहित आसपासका धार्मिक एवं पुरातात्त्विक सम्पदाको पुर्ननिर्माण गर्न चिनियाँ पक्ष कार्यक्षेत्रमा आइपुगेको छ ।
नेपाल सरकारसँग भएको सम्झौता अनुसार पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ टोली विदुर नगरपालिका–२ मा अवस्थित कार्य क्षेत्रमा फर्किएर पुर्ननिर्माण सुरु गर्नु पूर्वको तयारीमा खटिएको हो । २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति पुर्याएको दरबार सहितको संरचना पुनर्निर्माणको क्रममा चिनियाँ टोलीले भूकम्पले जीर्ण बनाएको संरचना थप क्षति हुन नदिन विसं.२०७६ असारमा खट बनाएर फकिएको थियो ।
नेपाल सरकारसँग भएको सम्झौताको अवधि सम्पन्न भइसकेको छ भने लामो समय चिनियाँ पक्ष सम्पर्कमा नहुँदा दरबार सहितको संरचना पुर्ननिर्माण अन्योल भइरहेको थियो । तर, दरबार निर्माणको लागी प्राविधिक र कामदार सहितको टोली फर्केसँगै दरबार सहितको संरचनाको पुर्ननिर्माण हुने निश्चित भएको शुक्रबार दरबार परिसरमा आयोजित छलफल र सम्पदाको अनुगमन पश्चात् पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले विश्वास व्यक्त गर्नुभयो ।

उहाँको अनुसार भूकम्पले क्षति पु¥याएका संरचना पुनर्निर्माणमा सहयोग पुर्याउने कार्यक्रम अन्तर्गत नेपाल र चीन सरकारबीच दरबारसहित धार्मिक तथा पुरातात्त्विक महत्वका विभिन्न आठवटा संरचनाको पुर्ननिर्माण गर्ने समझदारी भएको छ ।
सरकारीस्तरमा भएको सम्झौता अनुसार पुरातत्त्व विभाग र निर्माणको जिम्मेवारी पाएको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच २०७६ जेठमा ४५ महिनाभित्रै काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, काम सुरु नहुँदै निर्धारित समय सकिएकाले नयाँ सम्झौता मार्फत पुर्ननिर्माण अघि बढाउन चिनियाँ पक्ष सकारात्मक हुँदै कार्यक्षेत्र आइपुगेको छ ।
धार्मिक र पुरातात्त्विक सम्पदा पुनर्निर्माणको क्रममा आवश्यक साना प्रकृतिका सहयोग स्थानीय सरकारको हुनेछ भने कर्मचारी–कामदारको भिसा थप, राजश्व छुट लगायतमा संघीय सरकारको सहयोग हुने गरेर नयाँ सम्झौता गर्न लागिएको छ ।








प्रतिक्रिया राख्नुहोस्