तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार निवारण ऐनमाथि अख्तियार प्रमुखसँग छलफल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना र प्रविधिको उच्च पहुँच वृद्धिसँगै भ्रष्टाचारको शैली फेरिएकाले सूचना क्रान्तिअनुरूप भ्रष्टाचार निवारण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको भ्रष्टाचार निवारण ऐन,२०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा अध्यक्ष प्रचण्डले राजनीतिक व्यवस्था परिवर्तन भएर गणतन्त्रको स्थितिमा नयाँ मूल्यमान्यता अनुरुप ऐन कानुनहरू परिमार्जन आवश्यक भएको बताउनुभयो ।

भ्रष्टाचार जस्तो गम्भीर मुद्दामा कानून मात्रै बनाएर नहुने बताउनुहुँदै अध्यक्ष प्रचण्डले भ्रष्टाचारसम्बन्धी साँस्कृतिक र सामाजिक चेतना अभिवृद्धि पनि आवश्यक भएको बताउनुभयो ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले पछिल्लो समय भ्रष्टाचारको शैली बदलिएकाले त्यसलाई सम्बोधन गर्न ऐन संशोधन आवश्यक भएको बताउनुभयो ।

प्रमुख राईले सार्वजनिक सम्पत्ति अपचलन गर्ने राष्ट्रसेवक कर्मचारी मात्रै नभइ घुस लिने र दिने दुवैलाई कानूनी दायरामा ल्याउनुपर्ने विषयलाई पनि यो ऐनले समेटेको जानकारी गराउनुभयो ।

उत्तर पुस्तिका तलमाथि गर्ने गराउने विषयमा अत्यधिक उजुरी पर्ने गरेको बताउँदै आवश्यक कानूनको अभावमा कारबाही प्रक्रिया अघि बढाउन नसकिएको जानकारी गराउँदै अख्तियार प्रमुख राईले अब संशोधन हुने ऐनले त्यसलाई समेत भ्रष्टाचारको मुद्दा लगाउन सकिने व्यवस्था गरिएको बताउनुभयो ।

समितिमा भ्रष्टाचार निवारण ऐन,२०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button