तपाईँ सुन्दै हुनुहुन्छः

पल्सर स्पोर्टस अवार्ड आगामी भदौ २८ गते हुने

काठमाडौँ । नेपाली खेलकुद पत्रकारहरूको छाता सङ्गठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आगामी भदौ २८ गते हुने भएको छ ।

एनएसजेएफले बुधबार पत्रकार सम्मेलनमार्फत अवार्डको २१औँ संस्करणको मिति घोषणा गर्‍यो । २०५२ सालमा स्थापना भएको एनएसजेएफले २०६० सालदेखि निरन्तर रूपमा अवार्ड कार्यक्रम गर्दै आएको छ ।

नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने उद्देश्यका साथ यसको सुरुआत भएको थियो ।

यसपाली एनएसजेएफले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस, एसिया) को कङ्ग्रेस पनि आयोजना गर्नेछ । एनएसजेएफ एआइपिएस एसियाको सदस्य हो ।

स्पोटर्स अवार्ड कार्यक्रमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने अभियान स्वरूप अवार्डको पूर्व सन्ध्यामा एआइपिएस एसिया कङ्ग्रेस पनि आयोजना गर्न लागिको एनएसजेएफले बताएको छ । उक्त कङ्ग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ । कङ्ग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारको उपस्थिति रहनेछ ।

सदा झैँ यस वर्ष पनि अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकललाई निरन्तरता दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा ग्रुपबिच अवार्डका लागि सहकार्य भएको यो १६औँ वर्ष हो ।

यस वर्ष अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफ टाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button