तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा शतप्रतिशत धान रोपाइँ सकियो

चितवन । गत वर्षभन्दा यस बर्ष चितवनमा चाँडै धान रोपाइँ सकिएको छ ।

समयमै मनसुन शुरु भएसँगै किसानलाई सहज भएपछि गत वर्ष भन्दा यस वर्ष छिटो रोपाइँ सकिएको हो ।

कृषि विकास कार्यालय चितवनको अनुसार चितवनमा गत वर्ष २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो, भने यस वर्ष २४ हजार २४ सय ७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

कार्यालयका सूचना अधिकृत सुरुचि त्रिपाठीले गत वर्षभन्दा यस वर्ष चितवनमा छिटो रोपाई सकिएको जानकारी दिनुभयो । “समयमै वर्षा नहुँदा र समयमै नहरको पानी आउन नसकेको कारणले गत वर्ष ९५% मात्र रोपाइँ भएको थियो अहिले यो समयमै शतप्रतिशत रोपाई सकिएको छ ।’ त्रिपाठीले भन्नुभयो– ‘गत वर्ष प्रशस्त पानी नपरेकाले किसानले पानी कोदो, मकै जस्ता अन्य बाली लगाउनुपरेको थियो ।

भरतपुरमा बसोबास गर्दै आएका कृषक गोपाल कँडेलले अहिले समयमै पानी परेकोले धान रोपाई सकिएको बताउनुभयो ।

जिल्लाका सबै स्थानमा धान खेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई मुख्य क्षेत्रका रूपमा लिने गरिन्छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरा मसिना जस्ता जातका धान लगाइने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button