तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनाको जोखिममा राजमार्ग क्षेत्रका नागरिक

बाँके । जिल्लाको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित झिझरी खोला नजिक गत बिहीबार स्कुल बसको ठक्करबाट एकजना पैदलयात्रीसहित १३ खसी बाख्राको मृत्यु भएको थियो ।  

पूर्व–पश्चिम राजमार्गमा कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको थियो । सोही क्षेत्रमा गत वर्ष यात्रुवाहक बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको थियो । 

विभिन्न समयमा हुने यस्ता दुर्घटनाबाट राजमार्ग क्षेत्रका सर्वसाधारणले बर्सेनि ठूलो जनधनको क्षति व्यहोर्दै आएका छन् । पशुपालक किसान सडक दुर्घटनाको जोखिममा पर्दै आएको राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो । गाई वस्तुलाई जङ्गल लैजाने र घर फर्काउने क्रममा राजमार्गमा तीव्र गतिमा गुड्ने सवारीसाधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको उहाँको भनाइ छ ।

बाँकेमा गत आर्थिक वर्षमा दुर्घटनामा परी १२ पशुचौपायाको ज्यान गएको र तीन पशुचौपाया घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो । जिल्लामा भएका अधिकांश सवारी दुर्घटना चालक र सडक प्रयोगकर्ताको लापरबाहीका कारण हुने गरेको उहाँले बताउनुभयो ।

“सवारी दुर्घटना भएकामध्ये अधिकांश लापरबाहीका कारण भएका छन् । चालकको लापरबाही प्रमुख कारण हो भने केही दुर्घटना सडक प्रयोगकर्ताले सावधानी नअपनाउँदा भएका छन्”, प्रहरी प्रहरी निरीक्षक सुवेदीले भन्नुभयो, “सडक नियमको पालना नगर्ने, नजिकै जेब्रा क्रसिङ भए पनि हतार हतार गरेर जहाँ पायो त्यहीँबाट बाटो काट्दा दुर्घटना भई ज्यान जाने गरेको छ ।”

गत आवमा एक सय ५८ वटा सवारी दुर्घटनामा परी ६६ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनामा दुई सय १२ नागरिक घाइते भएका प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले बेलाबेलामा राडर गनसहितको जाँच गर्नुका साथै सचेतनाका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।

राप्ती सोनारी–९ ढकेरीका नागरिक अगुवा विश्वराज खनालले राजमार्ग क्षेत्रमा हुने सडक दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न सवारी चालकसँगै आम नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो । “ट्राफिक प्रहरी र यातायात व्यवसायीले मात्र चाहेर सवारी दुर्घटना न्यूनीकरण गर्न सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “जनचेतना जनाउने, ट्राफिक नियम सिक्ने सिकाउनेलगायत कार्यमा सर्वसाधारण तथा नागरिक समाजको पनि भूमिका महत्वपूर्ण रहन्छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button