तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य मन्त्री पौडेलले गरे भक्तपुर क्यान्सर अस्पताल निरीक्षण

भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मङ्गलवार भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्।

अनुगमनको क्रममा स्वास्थ्य मन्त्री पौडेलले भक्तपुर अस्पतालले शुरु गरेका अनलाइन सेवा, टोकन प्रणाली, कोवाल्ट रेडियोथेरापि लगायतका सेवा थप गरेर बिरामीलाई थप सहज बनाएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

साथै मन्त्री पौडेलले निरीक्षणको क्रममा अस्पतालमा देखिएको समस्या र अभावलाई चाडै समाधान गर्ने समेत अस्पताल प्रशासनलाई बताउनु भएको छ ।मन्त्री पौडेल र थापालाई अस्पतालका निर्देशक उज्ज्वल चालिसे सबै वार्डको स्थलगत अनुगमन गराउनु भएको थियो ।

आकस्मिक रुपमा भक्तपुर क्यान्सर अस्पताल पुगेका स्वास्थ्य मन्त्री पौडेल तथा प्रदेश मन्त्री थापाले मन्त्रालयको ९ बुँदे निर्देशनको कार्यान्वयन बारे स्थलगत निरीक्षण गर्नु भएको हो ।

अस्पतालका निर्देशक डा। उज्ज्वल चालिसेले थप सेवाहरू शुरु गरिएको बारेमा जानकारी दिँदै कोवाल्ट रेडियोथेरापि, टिकटमा टोकन प्रणाली, अनलाइन टिकट, तथा ऐक्सटेन्सन हेल्थ सर्भिसबारे जानकारी गराउनु भएको थियो ।

मन्त्री पौडेल सँगै भक्तपुर क्यान्सर अस्पतालको अनुगमनमा पुगेका प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले बागमती प्रदेश सरकारले यस अघि दिँदै आएको क्यान्सर रोग उपचार सहायताको ५० हजारमा थप ५० हजार उपचार सहायता रकम थप गरेर प्रदेशले पनि केन्द्र सरकारकै जति एक लाख दिने निर्णय भएको बताउनुभयो ।

त्यस्तै डा चालिसेले भक्तपुर अस्पतालमा रेडिएसन थेरापीका लागि दुई वटा मेसिन सञ्चालनमा ल्याइएको बताउँदै यसअघि एउटा मेसिनले दैनिक एक सय हाराहारीमा थेरापी दिएकोमा अब त्यो बढेर दैनिक डेढ सय बढी नाघ्न थालेको बताउनुभयो । उहाँले सिटिस्क्यान मेसिन पनि थपिएर दुईवटा भएको, शल्यक्रिया कक्ष तीनवटामा दुई थपिएर पाँचवटा भएको र सञ्चालनमा समेत आइसकेको बताउनुभयो ।

मन्त्री पौडेल र थापालाई अस्पताल अनुगमन गराउने क्रममा उहाँले क्यान्सर उपचारका लागि चाहिने अझ केही अत्यावश्यक मेसिन नभएको जानकारी गराउनु भयो । ‘एमआरआई छैन, पेट सिटी जस्ता मेसिन छैन। यी पनि भयो भने अझ सहज हुने थियो,डा। चालिसेले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button