मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–१ नयाँ बस्तीका ४२ वर्षीय च्याङ्बा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हिजो राति ९ बजेको समयमा बाह्रदशी गाउँपालिका–२ जनता बजारस्थित भित्री सडक खण्डमा कुटीबाट राजगढतर्फ आउँदै गरेको मे ४ प ५१५६ नम्बरको मोटरसाइकलले पैदल यात्री तामाङलाई ठक्कर दिएको थियो । घाइते तामाङलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार कचनकवल गाउँपालिका–१ का अन्दाजी १९ वर्षीय श्रवण राजवंशीसमेत घाइते भएका छन् । उनको निधार र टाउकोमा चोट लागेकोले सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले मोटरसाइकल चालक कचनकवल गाउँपालिका–१ पिण्डलबारीका १९ वर्षीय देवराज राजवंशीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्