तपाईँ सुन्दै हुनुहुन्छः

समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा भ्रष्टाचार न्युनिकरण, डेडिकेटेड लाइन र ट्रक लाइनको समस्या समाधान, स्वदेशमा नै रोजगारीको सिर्जना, कानुन निर्माण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण र डेडिकेटेड र ट्रङ्क लाइनको विषयमा सदनमा स्पष्ट पार्न सरकारलाई आग्रह गर्नुभयो ।

सांसद थापाले भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणको विषयबाट सरकार भाग्ने नभई स्पष्ट पार्नु पर्नेमा जोड समेत दिनुभयो ।

नेकपा एमालेका सांसद ऋषिकेष पोखरेलले डेडिकेटेड र ट्रक लाइनको बक्यौता सम्बन्धमा महालेखाले बेरुजु देखाएको विषयमा सार्वजनिक लेखा समितिमा छलफल सुरु गरेको र त्यसमा विवाद झिकिरहनु आवश्यक नरहेको बताउनुभयो ।

समितिका सभापति समेत रहेका पोखरेलले महालेखाको प्रतिवेदन अनुसार करिब २२ अर्ब उठाउनुपर्नेमा ८ अर्बको बिल गएको विषय उठेपछि समितिले छलफल शुरु गरेको पनि स्पष्ट पार्नुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले संविधान संशोधन प्रतिगमनका लागि नभई आवश्यकताका आधारमा देशलाई अग्रगमनमा लैजानेगरी गर्नुपर्ने बताउनुभयो । 

सांसदहरुले नेताहरू आरोप प्रत्यारोपमा नलागी स्थानीय सरकारलाई बलियो बनाउने, बेरोजगारीका कारण युवामा बढेको निराशा हटाउने, युवा पलायन रोक्ने तथा संविधान अनुकूल कानुन निर्माणका काममा सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुहले भ्रष्टाचार न्युनिकरणका लागि प्रभावकारी पहल गर्न सरकारसँग माग गर्नुभयो । सांसदहरुले बालुवा ढुङ्गा तथा गिट्टी उत्खनन कार्यलाई रोक्नका लागि प्रभावकारी कदम चाल्नु पर्ने, किसानलाई समयमा नै मलखादको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

असिम शाह, रोशन कार्की, राजेन्द्रप्रसाद पाण्डे, रञ्जुकुमारी झा, अब्दुल खान, रामप्रकाश चौधरी, प्रेम सुवाललगायतका सासदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button