तपाईँ सुन्दै हुनुहुन्छः

उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महिला, आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद थापाले ती समुदायका अधिकारलाई संस्थागत गर्दै सङ्घीयतालाई अझ सुदृढ र समृद्ध बनाउनुपर्ने बताउनुभयो । सङ्घीयता, गणतन्त्र, समानुपातिक निर्वाचन प्रणालीलाई अझ समावेशी बनाउनुपर्नेमा जोड दिँदै सांसद थापाले पछाडि फर्किने छुट कसैलाई नभएको बताउनुभयो ।

भुटानी शरणार्थी र सहकारी ठगीमा मुछिएकालाई कारबाही गर्नुपर्ने माग गर्दै सांसद थापाले असल काम गरेमा सरकारको प्रशंसा र गलत गरेमा आलोचना हुने बताउनुभयो । उहाँले सहकारी, मल र दूधको समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

वर्तमान सरकार गठन भएका बेला गरिएका सहमतिका आधारमा जनचाहनाअनुसार काम हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले अनियमिततासम्बन्धी सबै फाइल खोलेर दोषीमाथि छानबिन हुनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button