प्रतिनिधि सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । पछिल्लो समय सडक तथा हवाई दुर्घटना बढिरहेको भन्दै दुर्घटना र क्षति न्युनिकरणका विषयमा समयमा नै ध्यान दिन सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।
प्रतिनिधि सभाको आज बसेको बैठकमा सांसदहरुले पछिल्लो समय बाढी र पहिरोका कारण सडक दुर्घटना बढेको र मानिसको मृत्यु भइरहेको अवस्थामा समेत सुरक्षाका लागी सरकारले प्रभावकारी पहल गर्न नसकेको बताउनुभयो ।
सांसदहरुले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको, हवाई दुर्घटनाबाट नेपाली र विदेशीले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने र हवाई क्षेत्रको नियामक निकाय र सेवा प्रदायक निकाय छुट्ट्याउनु पर्नेमा जोड दिनुभयो ।
सांसदहरुले देशका विभिन्न भागमा बाढी र पहिरोले क्षति पुर्याएका सडक पुन निर्माणमा ध्यान जान नसक्दा स्थानीय मारमा परिरहेको, तराईका नदिहरुमा तटबन्ध निर्माण लगायतका काम हुन नसक्दा हजारौँ विघा खेतीयोग्य जमिन डुबानको जोखिममा रहेको बताउनुभयो ।
सांसदहरुले भ्रष्टाचार न्युनिकरणका लागि समयमा सरकारले ध्यान दिनुपर्ने, सांसदहरुले संसदमा बोल्ने विषयमा हस्तक्षेप गर्न नहुने धारणा राख्नुभयो ।
बैठकको आकस्मिक समयमा आफूले चाहेको विषयमा बोल्न रोक लगाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उठेर विरोध गर्नुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदहरुले संसदमा जुनसुकै विषय उठाउन सक्ने भन्दै सभामुखले रोक्न नहुने बताउनुभयो ।
संसदमा जुनसुकै विषय उठाउन सांसदलाई सार्वभौम अधिकार रहेको भन्दै रास्वपा र राप्रपाका सांसदहरु उठेर संसद् अवरोध गरिरहेपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरु पनि उठेर विरोध गर्नुभएको थियो ।
अन्तिममा सभामुख देवराज घिमिरेले सांसद हरि ढकाललाई बाँकी समय उपयोग गरेर बोल्न समय दिएपछि माओवादी, रास्वपा र राप्रपा सांसदहरु बसेसँगै संसद् बैठक सञ्चालन भएको थियो ।
बैठकमा सभामुख घिमिरेले सांसदहरुलाई सभाको नियमावलीअनुसार अगाडी बढ्न र संसद् सुचारु गर्नका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्