सामाजिक सुरक्षा कार्यक्रमबाट १५ हजार विपन्न नागरिकले पाए निःशुल्क उपचार

बाँके । भेरी अस्पतालबाट सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट गत आ.ब २०८०/०८१ मा १५ हजार ४ सय ४६ जना विपन्न नागरिकले सेवा लिएका छन् ।
आर्थिक सर्वेक्षण २०८०/८१ मा सामाजिक सेवा एकाइबाट ६ हजार ८ सय ३३, ज्येष्ठ नागरिक २ हजार ९ सय ८६, द्धन्द पीडित ८ जना र रक्तसञ्चार ५ हजार ६ सय १९ जनाले निःशुल्क सेवा पाएको अस्पतालका मेडिकल सुपरिटेण्डन प्रकाश थापाले बताउनु भयो ।
सरकारले उक्त कार्यक्रम अन्तर्गत मुटुरोग, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियालगायत कडा रोगमा सहायता उपलब्ध गराउँदै आएको डाक्टर थापाले जानकारी दिनु भयो ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘प्रदेश विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि स्वीकृत भएसँगै रक्तसञ्चार सेवा प्रदायकले लिने गरेको शुल्क दिनु परेको छैन ।
यसअघि ब्लड ब्याग र परीक्षणको नाममा रकम भुक्तानी गर्नुपर्ने अवस्था रहेकोमा कार्यविधि स्वीकृत भएसँगै विपन्न नागरिक र आकस्मिक उपचारमा रगत लिँदा भेरी अस्पतालको सिफारिसमा रक्त सञ्चार केन्द्रले निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ ।
कार्यविधि अनुसार एकजना विपन्न नागरिकले एक आर्थिक वर्षमा बढीमा १० वटासम्म व्डल ब्याग सेट र रक्त परीक्षणसहित रक्तसञ्चार सेवा निःशुल्क पाउने छन् ।
त्यसैगरी, डायलासिस गराइरहनु पर्ने जस्ता रगत तथा रक्त तत्त्वसहित बढीमा १० वटासम्म थप ब्लड ब्याग सेट र रक्त परीक्षणसहित रक्तसञ्चार सेवा निःशुल्क प्राप्त गर्नेछन् । दुर्घटना, विपद लगायतका आकस्मिक अवस्थाका व्यक्तिले पनि यो सेवा निःशुल्क प्राप्त गर्ने कार्यविधिमा उल्लेख छ ।
कार्यविधि अनुसार रक्तसञ्चार सेवा लिँदा रक्तसञ्चार सेवा प्रदायक संस्थामा विपन्न भएको स्वः घोषणा पत्र वा विपन्न परिचय पत्र वा गरिबको परिचय पत्रको प्रतिनिधि, नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहबाट प्रदान गरिएको प्रदेश खुल्ने परिचयपत्रको प्रतिलिपि, रक्तसंचारसहित उपचार गराइरहेको वा उपचार गर्ने अस्पतालको सिफारिस पत्रको प्रतिलिपि उपलब्ध गराउनुपर्ने छ ।








प्रतिक्रिया राख्नुहोस्