तपाईँ सुन्दै हुनुहुन्छः

साल्पासिलिछोका अढाई सय घरलाई गाउँमै बिद्युतको मिटर वितरण

भोजपुर । नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले स्थानीय नागरिकको सहजताका लागि दुर्गम गाउँमै पुगेर बिद्युतको लागि मिटर वितरण गरेको छ ।

पालिकासँगको सहकार्यमा गाउँमै गएर बिद्युत् मिटर वितरण गरिएको हो । दुर्गम जिल्लाको सुदूर उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा पुगेर प्राधिकरणका कर्मचारीले नागरिकलाई राहत दिन घरघरमा राख्ने मिटर गाउँमै पुर्‍याएर वितरण गरेका हुन । दुर्गम गाउँबाट हजारौँ रुपैयाँ खर्चेर मिटर लिन सदरमुकाममा रहेको प्राधिकरण कार्यालयसम्म धाउनुपर्थ्यो ।

गाउँमै मिटर पुर्याईदिदा उनीहरूको खर्च र समय दुवै जोगिने भएकाले कार्यालयले यो सुविधा उपभोक्ताहरूलाई दिएको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका स्टोर प्रमुख रुजन कार्कीले बताउनुभयो । गाउँमै बिद्युत् मिटर पाएपछि स्थानीय नागरिकहरू पनि उत्साही बनेका छन् । साल्पासिलिछो गाउँपालिका वडा नम्बर ३, चौकीडाँडामा रहेको पालिकाको कार्यालयमा दुई सय ४० घरका लागि बिद्युत् मिटर वितरण गरिएको हो ।

साल्पासिलिछो गाउँपालिका वडा नम्बर तीन चौकीडाँडाका ६५ वर्षीय भुवन सिं राईले गाउँमै मिटर लिन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मिटर लिन हामी सदरमुकामसम्म धाउनु पर्थ्यो । पैसा त्यतिकै खर्च हुन्थ्यो भने समय पनि उत्तिकै लाग्थ्यो, अहिले गाउँमै मिटर पाउँदै खुशी लागेको छ ।” प्राधिकरणले तीन हजार एक सय ४० रुपैयाँमा गाउँमै मिटर उपलब्ध गराएको छ । 

साल्पासिलिछो गाउँपालिकालाई उज्यालो बनाउने अभियान बिद्युतीकरणसँगै पुरा हुँदै गएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले बताउनुभयो । उज्यालो साल्पासिलिछो बनाउने अभियानमा सहयोग पुर्‍याउने उपाध्यक्ष राईले सबैलाई आग्रह समेत गर्नुभयो । पालिका भित्र छ वटा वडाहरू छन् । यो पूर्ण बिद्युतीकरण हुन बाँकी गाउँपालिका हो ।  

आवेदन सहितको फाइलहरू रुजु गरेर आवश्यक कागजात पुगेका उपभोक्तालाई मिटर बक्स वितरण गरेको प्राधिकरण भोजपुर वितरण केन्द्रका सहायक लेखापाल सुनिल निरौलाले बताउनुभयो । यस ठाउँमा आगामी दिनमा अरू पनि मिटर जाने निरौलाले जानकारी दिनुभयो । पूर्वजनप्रतिनिधी तथा स्थानीय शान्तिराम अधिकारीले विद्युत् गाउँमा बल्ने भएपछि गाउँका सबै उपभोक्ता हर्षित भएको बताउनुभयो । “विद्युत् आएपछि बत्ती बाल्न, घरेलु उद्योग र कुटानी पिसानी मिलहरू समेत सञ्चालन गर्न सहज हुने छ,” अधिकारीले भन्नुभयो ।  

बिद्युतको मिटर पाएका नागरिकहरूको घरमा अव प्राविधिक कर्मचारीबाट मिटर जडानको काम गरिने नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । भोजपुर जिल्लामा दुई नगरपालिका र सात वटा गाउँपालिका छन् । जसमा साल्पासिलिछो र आमचोक गाउँपालिका क्षेत्रमा बिद्युतीकरण कार्य भई रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button