भ्रष्टाचारजस्तो अपराधमा कसैलाई उन्मुक्ति दिन नहुने

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरुले आ आफ्नो संशोधन प्रस्तुत गर्नुभएको छ ।
समितिको आज बसेको बैठकमा उक्त ऐनमाथि संशोधनकर्ता सांसदहरु अर्जुननरसिंह केसी,रञ्जुकुुमारी झा, रोशन कार्की, प्रेम सुवाल, सोविता गौतमलगायतले भ्रष्टाचारको कसुरमा दोषीलाई दिइने कैद सजाय र जरिवाना बढाउन संशोधन प्रस्ताव गर्नुभयो ।
बैठकमा सांसदहरुले एकपटक भ्रष्टाचार ठहरिएको व्यक्ति सधैँको भ्रष्टाचारी हुने गरि कानूनी व्यवस्था गर्नुपर्ने, भ्रष्टाचारको मुद्दामा हद म्याद राख्न नहुने, भ्रष्टाचारमा एक करोडभन्दा माथिको जरिवाना तोकिनुपर्ने लगायत संशोधन पेश गर्नुभयो ।
बैठकमा गृहमन्त्री रमेश लेखकले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न समितिमा छलफल भइरहेको ऐन महत्वपूर्ण हुने बताउनुभयो ।
भ्रष्टाचारजस्तो अपराधमा कसैलाई उन्मुक्ति दिन नहुने विषयमा सबै जनाको एक मत रहेकाले भ्रष्टाचार निवार ऐन चाडै संसदमा लगिने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाउनुभयो ।
समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग छलफल गरेपछि भ्रष्टाचार निवार ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्