तपाईँ सुन्दै हुनुहुन्छः

झरीमा पोखरा साहित्यमय

पोखरा  । सप्ताहान्तको फुर्सदलाई पोखरेली वाङ्मयप्रेमीले साहित्यको रसस्वादनमा खर्चिए ।

कतै मुक्तक सुनिए, कहीँ गजल । उपन्यासमाथिको बहसदेखि नाट्यकृतिको लोकार्पण एकै दिन भए । पोखरा झरीको याममा पनि साहित्यमय बन्यो । पोखरा महानगरपालिका–२६ मा शनिबार आयोजित ‘वडा उत्सव’मा चर्चित गजलकार प्रदीप रोदन, मन क्षेत्री र कपिल शर्मा प्रस्तुत हुनुभयो । रोदनले सात, क्षेत्री र शर्माले छ/छ वटा गजल सुनाउनुभयो । 

‘गजब्बको माहोल जम्यो’, गजलकार क्षेत्रीले भन्नुभयो । वडा कार्यालयले गजलकारहरूलाई मञ्चमा उभ्याएको हो । तीनै गजलकारले झन्डै एक घण्टा गजलको महफिल जमाए । पत्रकार एवं आख्यानकार अखण्ड भण्डारी पनि शनिबार यहाँका पाठकमाझ प्रस्तुत हुनुभयो । आफ्नो उपन्यास कृति ‘बोरा’ माथिको परिचर्चा कार्यक्रममा उहाँले उपन्यास लेखनको अनुभव र रचनागर्भ सुनाउनुभयो । र्यान्डम रिडर्स सोसाइटी’द्वारा आयोजित उक्त कार्यक्रममा उपप्राध्यापक राजिन पनेरुले ‘बोरा’माथिको समालोचनात्मक टिप्पणी गर्नुभयो । 

कार्यक्रममा उपन्यासबारे बौद्धिक पाठकहरूले जिज्ञासा तथा सुझाव राखेका थिए । पाठकसँगको संवादमा आख्यानकार भण्डारीले आफ्नो लेखकीय अनुभव बाँड्नुभयो । अन्नपूर्ण पोष्ट दैनिकका सम्पादकसमेत रहनुभएका उहाँले उपन्यास सत्य घटनामा आधारित रहेको बताउनुभयो । आफू पत्रकारसमेत भएकाले उपन्यासका माध्यमबाट समाजका घटना र प्रवृत्तिलाई पस्किन सहज भएको उहाँले सुनाउनुभयो ।

पुछारसिटे अभियानको आयोजनामा कवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’माथि पनि शनिबार नै परिचर्चा गरियो । साहित्यकार सरु भक्त, तीर्थ श्रेष्ठलगायत सो कार्यक्रममा सहभागी हुनुभएको थियो । उक्त कविता कृतिमाथि डा भूमिराज बस्ताकोटीले टिप्पणी गर्नुभयो । 

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा कवि सिर्जना अर्यालको नाट्यकृति मुर्दाघरको लोकार्पण पनि शनिबार नै भयो । गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजित उक्त कार्यक्रममा कवि अर्यालले एकल कविता वाचनसमेत गर्नुभयो । मुक्तक मञ्च केन्द्रीय समितिले एक सय ९५औँ मुक्तक वाचन शृङ्खला आयोजना गर्‍यो । चौकीस मुक्तककारले आफ्नो चोटिला मुक्तक सुनाउनुभयो । 

हरेक महिनाको अन्तिम शनिबार मुक्तक वाचन कार्यक्रम आयोजना गर्ने गरिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले जानकारी दिनुभयो । “मञ्चको कार्यक्रममा विशेषगरी चतुस्पदी मुक्तक सुनाउने गरिन्छ”, उहाँले भन्नुभयो । विसं २०६५ मा स्थापित उक्त संस्था मुक्तक विधाको उन्नयनमा समर्पित छ । शनिबार नै लोकगायक कल्याण शेरचनलाई पोखरामा सम्झिइयो । कल्याण शेरचन स्मृति प्रतिष्ठानको १४औँ वार्षिक साधारणसभामा उहाँको योगदानबारे चर्चा गरियो । 

पोखरामा भाषा, साहित्य र संस्कृतिका श्रीवृद्धिमा दर्जनौँ संस्था क्रियाशील छन् । उनीहरूले हरेक साता कुनै न कुनै साहित्यिक गतिविधि गर्दैआएका छन् । उनीहरूले साहित्यिक पुरस्कार तथा सम्मानसमेत प्रदान गर्दै आएका छन् । पोखरेली युवा सांस्कृतिक परिवारलगायत यसको अग्रणी भूमिकामा देखिन्छन् । नेपालमै पहिलोपटक  २०३५ सालमा टिकटमा मुक्तक कार्यक्रम आयोजना गरेको श्रेय पनि उक्त परिवारलाई जान्छ । त्यसबेला उक्त कार्यक्रममा दिवङ्गत साहित्यकार हरिभक्त कटुवाल प्रमुख अतिथिका रुपमा पोखरा आउनुभएको थियो । 

पोखरेली सर्जक फणिन्द्र अकिञ्चनले कला, साहित्यको उत्थानमा संस्थागत पहल पोखरेली युवा सांस्कृतिक परिवार गठन भएयता सुरु भएको बताउनुभयो । “अहिले दर्जनौँ साहित्यिक संस्था यहाँ सक्रिय छन्, शनिबार त साहित्यिक कार्यक्रममा पुग्नै भ्याइनभ्याइ हुन्छ”, उहाँले भन्नुभयो, “पहिले रचना वाचन बढी हुन्थ्यो, अहिले साहित्यिक पुस्तकमाथि बौद्धिक र विमर्शका कार्यक्रम हुन थालेका छन् ।”

काठमाडौँमा बसेर लेखिरहेका कवि, लेखकहरू त्यस्ता कार्यक्रमका लागि बरोबर पोखरा आइरहन्छन् ।र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले नियमित रुपमा साहित्यिक कृतिमाथि परिचर्चा कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । पोखरा कला, साहित्य र संस्कृतिले धनी सहर हो । बूकवर्म फाउन्डेसनले गर्दै आएको नेपाल साहित्य महोत्सव पनि केही वर्षदेखि पोखरामा हुँदै आएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button