दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सय दिने काउन्टडाउन शुरु
सुर्खेत । आगामी मङ्सिर २ गतेदेखि कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सय दिने काउन्टडाउन शुरु भएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आज सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा लोगो र मस्कटसहित सय दिने दिनको काउन्टडाउन सार्वजनिक गरेको हो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको सय दिने काउन्टडाउन शुरु घोषणा कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले समयमै निर्माणकार्य सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय तहहरू लागि परेको बताउनुभयो ।

कार्यक्रम खेल परिषद्का सदस्य सचिव विश्वमित्र संज्यालले प्रतियोगिताको १०० दिने काउन्टडाउन शुरु गरेसँगै परिषद्ले पाँच मुख्य कामलाई ध्यान दिएर अगाडि बढेको बताउनुभयो । उहाँले पहिलो प्रथामिकतामा राखेका पाँच काममध्ये पूर्वाधार, बसोबास, यातायात, स्वास्थ्य र सुरक्षा रहेको जनाउनुभयो । उहाँका अनुसार १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी कार्य असोजसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
कार्यक्रममा सात वटा रङ्गमा सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदी अंकित लोगो समेत सार्वजनिक गरिएको छ । कर्णालीले सार्वजनिक गरेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट भने कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्