एक हजार १६० जना एचआइभी संक्रमित उपचारको दायरामा

चितवन । चितवनमा एक हजार एक सय ६० जना एचआइभी सङ्क्रमित उपचारको दायरामा आएको पाइएको छ । नेपाल नगरपालिका सङ्घको आयोजना तथा एफएचआई तीन सय ६० परियोजनाको सहयोगमा एचआइभी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको दिगो वित्तीय पहलसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कार्यक्रममा एफएचआई तीन सय ६० परियोजनाका कन्सल्टेन्ट ईश्वरनाथ मिश्रले नेपालमा एचआइभीको अवस्थाबारे प्रकाश पार्दै ६ लाख ८५ हजार जनसङ्ख्या एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको जानकारी दिनुभयो । असुरक्षित यौनसम्पर्क, लागू पदार्थ तथा लागूऔषध प्रयोगकर्ता, समलिङ्गी, तेस्रोलिङ्गी, यौनकर्मी महिला, आप्रवासी श्रमिक पुरुष र तिनका जीवनसाथी एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार प्रदेशगतरुपमा सबैभन्दा बढी बागमती प्रदेशमा २६ प्रतिशत अर्थात् ६ हजार चार सय ५८ जना एचआइभी सङ्क्रमित रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा ४ हजार छ सय ८९, मधेश प्रदेशमा ४ हजार ५८, सुदूरपश्चिम प्रदेशमा ३ हजार छ सय ७५, गण्डकी प्रदेशमा २ हजार आठ सय ८६, कोशी प्रदेशमा २ हजार तीन सय ११ र कर्णाली प्रदेशमा सात सय १६ जना एचआइभी सङ्क्रमित रहेका छन् ।
सन् २०२६ सम्म ९५ प्रतिशत सम्भावित एचआइभी सङ्क्रमित पत्ता लगाई उपचारको दायरामा ल्याउने लक्ष्य रहेको बताउँदै उहाँले नेपालमा १६ हजार पुरुष, १३ हजार महिला र एक हजार बालबालिकामा एचआइभी सङ्क्रमण रहेको तथ्याङ्क प्रस्तुत गर्दै बर्सेनि चार सय ८८ जना नयाँ सङ्क्रमित थपिने गरेको जानकारी दिनुभयो । जसमध्ये बर्सेनि एड्सबाट मृत्यु हुनेको सङ्ख्या तीन सय ४४ जना रहेको र बर्सेनि आमाबाट बच्चामा एचआइभी सर्नबाट दुई सय ३० जनाको रोकथाम हुने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा रत्ननगर–९ मा रहेको सहभागी संस्थाका कार्यक्रम संयोजक अर्चना न्यौपानेले सन् २००६ देखि जोखिम वर्गहरूको प्रकृति हेरेर स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले चितवनमा पाँच सयको हाराहारीमा यौनकर्मी महिला रहेको र रत्ननगरमा दुई सय यौनकर्मी महिलाहरूले एआरटी सेन्टरबाट नियमित औषधि सेवन गरिरहेको बताउनु भयो । सन् २०२२ मा अनलाइनमार्फत लक्षित समूह पहिचान गरी ट्रयापिङ गर्दा रत्ननगरमा ६ जना नयाँ सङ्क्रमित पत्ता लागेको उहाँले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले विभिन्न मापदण्डका आधारमा देशभरका १० पालिकामध्ये रत्ननगर नगरपालिका छनोट भई एचआइभी रोकथाम तथा नियन्त्रणका लागि दिगो वित्तीय पहल (एसएफआई) परियोजना लागू गर्नका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूका लागि अभिमुखीकरण र योजना तर्जुमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको समापन गर्दै नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले एचआइभी रोकथाम र नियन्त्रणका लागि विद्यालयस्तरमा पाठ्यक्रममै समावेश गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा स्वास्थ्य शाखासँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम अगाडि बढाइने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्