तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको वर्तमान अवस्था लगायतका विषयमा पूर्व कर्मचारीहरूसँग छलफल

काठमाडौँ । रेडियो नेपालले, रेडियो नेपालमा सेवा गरि सेवा निवृत्त हुनुभएका सम्पुर्ण पूर्व कर्मचारीहरूसँग निवृत्तभरण कोषको व्यवस्था, रेडियो नेपालको वर्तमान अवस्था लगायतका विषयमा छलफल गरेको छ ।

रेडियो नेपाल सिंहदरबारमा आज आयोजित छलफल कार्यक्रममा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले निवृत्तभरण कोष व्यवस्थाका लागि निवृतभरण कोष निर्देशिका रेडियो नेपाल सञ्चालक समितिबाट पारित भएर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो।

उहाँले सेवा निवृत्त कर्मचारीको निवृत्तिभरण सुनिश्चितताको लागि व्यवस्थापन, कर्मचारी संघ, सङ्गठन तथा पूर्व कर्मचारीहरू सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक द्वय चन्द्र भुषण लाल दास र कृष्णचन्द्र पौडेलले सेवा निवृत्त कर्मचारीको निवृत्तभरणको प्रत्याभूति हुनुपर्नेमा जोड दिनुभयो।

योजना महाशाखाका निर्देशक पुष्करराज गौतम र आर्थिक महाशाखाका निर्देशक मनोज चौधरीले निवृत्तभरण कोष र निवृतभरण व्यवस्थाका लागि रेडियो नेपाल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयमार्फत भइरहेको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो।

रेडियो नेपाल कर्मचारी संघका महासचिव बन्द्री ढकाल, कर्मचारी युनियनका महासचिव धनिश्वोर खनाल र राष्ट्रिय कर्मचारी सङ्गठनका महासचिव गणेश महराले सबै पक्ष मिलेर निवृतभरण कोषको व्यवस्थामा लाग्नुपर्नेमा जोड दिनुभयो।

पूर्व कर्मचारीको तर्फबाट धन लामा, भरत घिमिरे र प्रेम भट्टराई लगायतले कर्मचारीको तलव र सेवा निवृत्त कर्मचारीको पेन्सन सँगसँगै वितरण गर्नुपर्ने, पेन्सन कोषको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button