तपाईँ सुन्दै हुनुहुन्छः

लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप कार्यक्रम सुरु

नुवाकोट । गाई भैँसीमा लाग्ने विषाणुजन्य लम्पी स्किन रोग विरुद्ध जिल्ला पशु सेवा कार्यालय नुवाकोटको आयोजनामा नुवाकोट सहित रसुवामा सप्ताहव्यापी खोप अभियान सुरु भएको छ ।

अभियानको शुक्रबार विदुर नगरपालिका–६ स्थित मल्ल बहुउद्देश्यीय कृषि फर्ममा पालन गरेको भैँसीमा खोप लगाएर कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.रामप्रकाश प्रधानले सुरु गर्नुभयो ।

जन्मेको तीन महिनाभन्दा माथिका बिरामी बाहेक सबै गाई–भैँसीलाई खोप लगाउन खोपकर्ता परिचालन गरिएको छ । वरिष्ठ पशु विकास अधिकृत डा.रामप्रकाश प्रधानको अनुसार दुई जिल्लाका किसानले पालेका सम्पूर्ण गाई भैँसीलाई निःशुल्क खोप लगाउन दश हजार डोज खोप सहित ३१ जना खोपकर्ता परिचालन गरिएको छ ।

सप्ताह अन्तरगत दुई जिल्लामा किसानले पालेका करिब पच्चिस हजार गाई भैँसीलाई समेट्ने लक्ष्य लिइएको छ । नेपालमा विसं २०७७ साल असार १० मा पहिलो पटक देखा परेको लम्पी स्किन रोग गत वर्ष महामारीको रुपमा फैलिएको थियो । उक्त रोग लागेर धेरै गाई–भैँसी प्रभावित भएर किसानको ठूलो पशुधनको नोक्सान भएसँगै बागमती प्रदेश सरकारले यो वर्ष मातहतका सबै जिल्लामा अभियानको रुपमा सप्ताहव्यापी खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

दुई जिल्ला कार्य क्षेत्र रहेको पशु सेवा कार्यालय नुवाकोटले खोप कार्यक्रम सफल बनाउन किसान सहित सरोकारवालाहरूलाई आह्वान गरिएको छ ।

विषाणुजन्य लम्पि स्किन रोग लामखुट्टे तथा किर्नाको टोकाइबाट एक पशुबाट अर्को पशुमा सर्ने सुरुवा रोग र छोटो समयमा धेरै पशुलाई प्रभावित बनाउने भएकाले रोग लाग्नबाट बचाउन अनिवार्य रुपमा निःशुल्क उपलब्ध रहेको खोप लगाउन पशु सेवा कार्यालयले गाईभैँसी पालक किसानलाई अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button