सरकार आदिवासी जनजाति समुदायको अधिकार रक्षाका लागि प्रतिबद्ध छ: मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी,जनजातिहरूको हक अधिकार रक्षा लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।
शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले सरकार आदिवासी,जनजातिका हक अधिकारहरूको सुरक्षा गर्न प्रतिबद्ध रहेको बताउनु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यताको प्रतिनिधित्व गर्दै मन्त्री पाण्डेले आदिवासीहरूले उठाएको सवालहरू आफ्नो मन्त्रालय र सरकारको पुँजीको रूपमा रहने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो,हामीसँग विविध संस्कृति,भाषा,भेसभुसाहरू रहेका छन्। संस्कृति र प्रकृतिको विविधतालाई हामीले निष्ठा पूर्व अघि बढाउनु पर्छ।
उहाँले तराई ,पहाड र हिमालको छुट्टै विविधता रहेको बताउनुहुँदै त्यसभित्रको सांस्कृतिक विविधताले जीवन र दर्शन बोक्ने गरेको बताउनु भयो।
उहाँले मुलुकले विविधता,सभ्यता र संस्कृतिमा बाँचेको छ भन्ने विश्वमाझ सन्देश दिन सकिने बताउनु भएको छ। उहाँले नेपाल खुला संग्राहलय र विश्वविद्यालयको रूपमा रहेको समेत बताउनु भयो ।
मन्त्री पाण्डेले नेपालको संविधानमा समावेशिताको विषय समेटिएकाले नेपालको विविधताको संरक्षणमा गरिएको दाबी गर्नु भयो।
मन्त्री पाण्डेले थप्दै भन्नुभयो,हामीले सही बाटो पहिल्याएका छौँ।संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अनुरूप राष्ट्रिय सभा र प्रतिनिधि सभाका साथै स्थानीय तहमा थप प्रतिनिधित्व कसरी थप्न सकिन्छ भन्नेमा छलफल गर्दै विकल्प सहितको निष्कर्षमा पुग्नेमा विश्वास दिलाउन चाहन्छु।








प्रतिक्रिया राख्नुहोस्