‘प्लाष्टिक फ्रि जोन’ अभियान मन्त्रालयबाट प्रारम्भ वनमन्त्री ठकुरी

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केन्द्रीय प्रशासनिक भवन सिंहदरबार क्षेत्रमा ‘प्लाष्टिक फ्रि जोन’ अभियानको सुरुआत गर्नुभएको छ ।
वातावरणका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथै फाउण्डेसन’ को प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटवार्तापछि मन्त्री ठकुरीले मानव स्वास्थ्य र वातावरणमा असर गर्ने प्लाष्टिकका सामग्रीको प्रयोग हटाउन आफ्नै कार्यकक्षबाट ‘प्लाष्टिक फ्रि जोन’ अभियान सुरुआत गर्नुभयो ।
सो अवसरमा मन्त्री ठकुरीले सिंहदरबारका प्रवेशद्वारमा ‘प्लाष्टिक फ्रि जोन’ सम्बन्धी सचेतनामूलक होडिङ बोर्ड राखेर अनुगमन गरी अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सबैले पुनः प्रयोग गर्न मिल्ने सामग्रीको उपयोग गरेर वातावरण स्वच्छ बनाउन र जीवनशैलीमा मितव्ययिता अपनाउनुपर्नेमा समेत जोड दिनुभयो ।
नेपाल सरकारले वातावरण र मानव स्वास्थ्यमा पर्ने जोखिम न्यूनीकरण गर्न २०७८ साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध र २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरेर नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण वा भण्डारण गर्न रोक लगाउने निर्णय गरेपनि पूर्ण रूपमा कार्यान्वयन भएको देखिँदैन । रासस








प्रतिक्रिया राख्नुहोस्