रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा

काठमाडौँ । पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षको छलफललाई रास्वपाले प्रदेश तहमा पनि विस्तार गरेको छ।
गत साता केन्द्रीय तहका नेताहरूका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो। सोहीअनुसार रास्वपाको बागमती प्रदेश समितिले आज र भोलि भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको छ।
क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित दुईसय पचास हाराहारी सहभागी छन्। ‘क्लोज क्याम्प’मा केन्द्रमा जस्तै विचार, सङ्गठन, अभियान, मूल्य-मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लबरलिडरसिप एकेडेमी गरी ६ वटा विषयमा समूहगत समूहमा छलफल भइरहेको छ।
भोलि आउने समूहगत छलफलको निष्कर्षलाई एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने रास्वपा बागमती प्रदेश समितिका सभापति डा। अच्युतम लामिछानेले जानकारी दिनुभयो। बागमती प्रदेशस्तरीय ‘क्लोज क्याम्प’को सहजीकरण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्यहरु शिशिर खनाल, सोविता गौतम, पुकार बम र केन्द्रीय विभागका कृष्णमान श्रेष्ठलगायतले गरिरहनु भएको छ।
रास्वपाले प्रत्येक प्रदेशको क्लोज क्याम्पको सहजीकरणका लागि केन्द्रीय नेताहरू खटाएको छ। ‘हालसम्मको गहन समीक्षासहित पार्टीलाई वैचारिक, राजनीतिक र साङ्गठनिक रुपमा सुदृढ गर्न अभियानकै रुपमा ‘क्लोज क्याम्प’ गरेका हौँ’ कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भन्नुभयो, केन्द्रले विधान संशोधनमा सुझावसमेत मागेको छ, त्यसबारे पनि छलफल हुन्छ।’ अन्य प्रदेशमा भने भोलि र पर्सी ‘क्लोज क्याम्प’ हुँदैछ।








प्रतिक्रिया राख्नुहोस्