अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
जुम्ला । अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका –१ गगनले खोलामा आएको ठुलो ढुङ्गा सहितको पहिरोले हिजो गए रातिदेखि अवरुद्ध सडक खुलाइएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीर बहादुर जीटिले बताउनुभयो ।
उहाँका अनुसार कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडक खण्ड अन्तर्गतको गगने खोला र काले खोला आएको पहिरो पन्छाइएको छ । साना गाडी सबै सहजै रुपमा पास भए पनि गगने खोलामा ठुला दश चक्के मालवाहक सवारीलाई भने पास हुन समस्या देखिएको छ ।
ठुला सवारी पास हुन नसकेको खण्डमा ब्रेकर लगाएर ढुङ्गा फुटाउने तयारी गरेको सडक डिभिजन जुम्लाले जनाएको छ ।
वर्षात समयमा पटक पटक पहिरो आउने र सडक अवरुद्ध हुने भएकोले सडक डिभिजनको सूचना र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न समेत आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्