तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश : नवनियुक्त मुख्यमन्त्री शाहद्वारा पद तथा गोपनीयताको सपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री शाहलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

समारोहमा प्रदेश प्रमुख मियाँ समक्ष नवनियुक्त मन्त्रीहरू मेघराज खड्का, बहादुरसिंह थापा, सुरेन्द्र पाल, वीर बहादुर थापा, हिरासिंह सार्की, लक्ष्मणकिशोर चौधरीले पद तथा गोपनीयताको सपथ लिनुभयो । खडकालाई सामाजिक विकास मन्त्रालय, थापालाई आर्थिक मामिला मन्त्रालय, पाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, थापा भूमि व्यवस्था तथा कृषि मन्त्रालय, सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रदेश सरकारमा काँग्रेस मुख्यमन्त्रीसहित २ मन्त्री, एमाले ३ मन्त्री, नागरिक उन्मुक्ति १ मन्त्री र काँग्रेसका २ तथा एमालेका १ राज्यमन्त्रीको सहभागिता रहेको छ । योसँगै प्रदेश सरकार १० सदस्यीय बनेको छ ।

यसैबिच मुख्यमन्त्री कमल बहादुर शाहले नवनियुक्त राज्यमन्त्रीहरू प्रकाश बम, सरस्वती खड्का र निर्मलादेवी साउदलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । समारोहमा सभामुख भिम बहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्री दिर्घबहादुर सोडारी, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश सभा सदस्य, सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button