तपाईँ सुन्दै हुनुहुन्छः

साउनको तेस्रो सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ।पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहान ४ः०० बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

साउनको तेस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनहरुको घुइँचो । तस्बिर :हरिराम भेटुवाल / रासस

उहाँले भन्नुभयो, “पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ, आज त बोलबमवालाहरूको पनि ठूलो सङ्ख्यामा घुइँचो लागेको छ । मन्दिरका चारै ढोका खुला गरेर भक्तजनलाई सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएका छौँ ।”

पशुपतिनाथ दर्शनका लागि आज बोलबम यात्रामा निस्केकाहरू दर्शनार्थी सहभागी रहेका प्रवक्ता अधिकारीले बताउनुभयो । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ ।

साउनको तेस्रो सोमबार बिहान भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर :चन्द्रकला क्षेत्री / रासस

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताउनुभयो । “साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “बोलबम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ ।”

यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button