‘स्तनपान नगराउने आमा क्यान्सरको उच्च जोखिममा ’

चितवन । स्तनपान नगराउने आमामा स्तन क्यान्सरको उच्च जोखिम रहेको चिकित्सकहरूले बताएका छन् ।
पछिल्लो समय आधुनिक जीवनशैली र व्यस्त जीवनशैलीका कारण आमाहरूले आफ्ना शिशुहरूलाई दूध नचुसाउँदा स्तन र डिम्बाशय क्यान्सरका महिलाहरू अस्पताल आउने गरेको उनीहरूको भनाई छ ।
कान्तिपुर हेल्थ अनलाइनले विश्व स्तनपान सप्ताहको अवसरमा आज भरतपुरमा आयोजना गरेको “स्तनपानको महत्व: चिकित्सक–पत्रकार अन्तर्क्रिया कार्यक्रम” मा चिकित्सकले नियमित स्तनपान नगराउने आमालाई ब्रेष्ट र डिम्बाशयको क्यान्सर हुने बताएका हुन्।
कार्यक्रममा भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा.सुनिलमणि पोखरेलले स्तनपान गराउँदा आमाहरूको अक्सिडेन्ट हर्मोन वृद्धि हुने र त्यसले क्यान्सर हुनबाट जोगाउने बताउनु भयो । ‘आमाको पहिलो बिगहुँते दूधमा अक्सिडेन्ट हर्मोन बढी हुन्छ, दूध चुसाउँदा पाठेघर खुम्चिन्छ, जसले रक्तश्राव हुनबाट जोगाउँछ।’ उहाँले भन्नुभयो ,‘रक्तश्राव हुनबाट जोगिएको अवस्थामा डिम्बाशयको क्यान्सर हुने जोखिम कम हुन्छ। तर स्तनपान नगराउने आमामा बढी क्यान्सर भएको हामीले पाएका छौँ । ’ अक्सिडेन्ट हर्मोनमा शिशुलाई आवश्यक पर्ने तत्त्व पनि बढी हुने उहाँको भनाई छ।
डा. पौडेलले एचआईभीरएड्स संक्रमित आमाहरूले स्तनपान गराउँदा बच्चामा एचआइभी संक्रमित नहुने समेत बताउनु भयो ।उहाँले नियमित स्तनपान नगराउने आमाको स्तनमा बोसो जम्मा हुने र क्यान्सर समेत गराउन सक्ने बताउनु भयो । न्यूनतम ६ महिनासम्म शिशुलाई आमाको दूध मात्रै खुवाउनु पर्ने र कम्तीमा दुई वर्षसम्म पुरक खाना सहित स्तनपान गराउनु पर्ने चिकित्सकको भनाई छ ।
भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा.श्वेताकुमारी गुप्ताले आमाको दूधमा प्रशस्त मात्रामा पौष्टिक तत्त्व हुने भएकाले शिशुका लागि रोग प्रतिरोधात्मक हुने बताउनु भयो । ‘आमाको दूधमा बच्चालाई चाहिने सबै पौष्टिक तत्त्व हुन्छ , ६ महिनासम्म उसलाई कुनै थप आहाराको आवश्यकता पर्दैन । डा. गुप्ताले भन्नुभयो ।
उहाँका अनुसार नियमित स्तनपान गर्ने बच्चालाई श्वासप्रश्वास, निमोनिया, झाडापखाला जस्ता रोगहरू लाग्ने सम्भावना कम हुन्छ। बच्चाको शारीरिक विकास हुने भएकाले बच्चाको मांसपेशी र गिजाको गुणस्तर समेत राम्रो हुने डा. गुप्ताको भनाई छ।








प्रतिक्रिया राख्नुहोस्