जङ्गली बदेल मार्ने क्रममा गोली लागेर एकजनाको मृत्यु, बन्दुकसहित दुई पक्राउ
डोटी । डोटीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडाका ३३ वर्षीय राम बहादुर साउँद र ४२ वर्षीय दिल्ली बहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उनीहरूलाई धानबारीमा लुकेको अवस्थामा राती करिब १० बजेतिर डोटीको नारीदाङ भन्ने ठाउँबाट प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले बताउनुभयो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको र विस्तृत अनुसन्धान अगाडि बढाइएको छ ।
शुक्रबार बिहान करिब ११ बजेतिर जङ्गली बदेल मार्ने क्रममा पुर्वीचौकी गाउँपालिका ६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापालाई गोली लागेर घटना स्थलमै ज्यान गएको थियो ।
स्थानीय घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्ने क्रममा थापालाई गोली लागेको थियो । मृतक थापा पनि सोही समूहमा सिकार खेल्न गएको बुझिएको र बाँकी जानकारी अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताएको छ । घटनामा संलग्नहरूलाई कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्