तपाईँ सुन्दै हुनुहुन्छः

शास्त्रीय सङ्गीतका प्रतिष्ठित गुरु गुरुदेव कामतको निधन 

काठमाडौँ । शास्त्रीय सङ्गीतका प्रतिष्ठित गुरु,गायक एवं सङ्गीतकार गुरुदेव कामतको निधन भएको छ ।

लामो समयदेखि मृगौला रोग पीडित ६९ वर्षीय उहाँको आज आफ्नै गृहजिल्ला सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखराभिण्डमा निधन भएको हो । मृगौला रोग उपचारका लागि आर्थिक अभाव भएपछि उहाँ केही समय अघि गाउँ फर्किनुभएको थियो । उपचार गर्न आर्थिक समस्याकै कारण गाउँ फर्किनु भएका उहाँको आज बिहान ७:३० बजे निधन भएको हो ।

राष्ट्रिय ख्यातिप्राप्त शास्त्रीय सङ्गीतका गुरु, सङ्गीतकार एवं गायकका रुपमा सुपरिचित स्वर्गीय गायक पछिल्लो ४ दशकदेखि निरन्तर राजधानी काठमाडौँमा रही नेपाली गीत सङ्गीत,शास्त्रीय गायन क्षेत्र र मैथिली सङ्गीतमा योगदान पुर्‍याउँदै आउनुभएको थियो ।

२०१२ साल साउन १७ गते सिरहाको पोखरभिण्डमा जन्मनुभएका स्वर्गिय कामतले शास्त्रीय सङ्गीत/आधुनिक सङ्गीतका साथै मैथिली सङ्गीतलाई समग्र नेपाली श्रोतासामु पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँको सङ्गीत प्रशिक्षणबाट दीक्षित थुप्रै सङ्गीत प्रशिक्षार्थी अहिले नेपाली सङ्गीतका नाम चलेका कलाकारका रुपमा क्रियाशील रहेका छन् । 

स्वर्गीय कामतको आजै हिन्दु परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिने उहाँको पारिवारिक स्रोतले जनाएको छ । थुप्रै कलाकारका पहिलो सङ्गीत गुरुको रुपमा रहनुभएका कामतको निधनले नेपाली सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button