तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग मन्त्री भण्डारी र नेपालका लागि चिनिया राजदूत चेन सोङबिच शिष्टाचार भेट

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनिया राजदूत चेन सोङ बिच शिष्टाचार भेट भएको छ ।
बिहान मन्त्री भण्डारीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै चीन विरोधी कुनै पनि गतिविधिका लागि आफ्नो भूमिको दुरुपयोग हुन नदिने सङ्कल्पमा नेपाल सरकार दृढ रहेको बताउनुभयो । नेपाल चीनको शान्ति, स्थायित्व एवम् विकासमा योगदान गर्न प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि चीन महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ । व्यापारको क्षेत्रमा चीन नेपालको दोस्रो ठुलो साझेदार हो भने प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा पहिलो लगानीकर्ता मुलुक हो । नेपालको भौतिक तथा व्यापार, लजिस्टिक्स पूर्वाधार, अन्तर–आबद्धता, ऊर्जा, व्यापार, कृषि तथा औद्योगिक विकासका क्षेत्रमा चीनले महत्त्वपूर्ण भूमिकाको सराहना गर्दछु ।’

मन्त्री भण्डारीले गत आर्थिक वर्षमा नेपाल र चीनबीच करिब ३ खर्व नेपाली रुपैयाँ भन्दा बढीको व्यापार भएको बताउनुभयो । उहाँले सन् २०२३मा नेपाल–चीनका सिमावर्ती अन्तर्राष्ट्रिय एवं द्विपक्षीय नाकाहरू पुनः सञ्चालनमा आएपछि द्वि देशीय व्यापारको मात्रा उल्लेख्य रुपमा बढेको बताउनुभयो । चीन दोस्रो ठुलो व्यापार साझेदार भएपनि आयात र निर्यातबिच ठुलो खाडल रहेको मन्त्री भण्डारीको भनाई छ । अति कम विकसित राष्ट्रको रुपमा चीन सरकारद्वारा एकपक्षीय रुपमा नेपाललाई प्रदान गरिएको ड्युटी फ्री सुविधाका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले चीनमा नेपाली उत्पादनको बजार पहुँच विस्तार गर्न र चीनको बजारमा नेपाली वस्तुहरूको प्रवर्द्धन गर्न चीन सरकारसँग सहकार्य गर्न उत्साही रहेको बताउनुभयो । उहाँले पछिल्ला वर्षहरूमा व्यापार मेला तथा प्रर्दशनीहरु द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने महत्त्वपूर्ण औजार बन्दै गएको बताउनुभयो । नेपालमा अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनी केन्द्रहरू अत्यन्तै न्यून रहेकाले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र स्थापनार्थ आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन राजदूत सोङ मार्फत चीन सरकारलाई आग्रह गर्नुभयो ।

मन्त्री भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध सधैँ बलियो, आपसी सम्मान र साँझा लक्ष्यमा आधारित रहेको भन्दै मुख्य क्षेत्रहरूमा ध्यान केन्द्रित गरेर, हामी हाम्रो आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन र साँझा समृद्धिको भविष्यतर्फ काम गर्न चाहन्छौँ ।‘उहाँले भन्नुभयो ।’ नेपाल–चीनको यो ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा चिनिया राजदूत चेन सोङले चीन-नेपाल आपसी सम्बन्ध विस्तार गरि सौहार्द वातावरण सृजना गर्न समर्पित रहेको बताउनुभयो । व्यापार र विकास निर्माणमा साझेदारी गर्न तथा नेपालको आर्थिक विकास र समृद्धिको साझेदारका रुपमा काम गरिरहेको बताउनुभयो । राजदूतका रुपमा आफूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै अन्य मन्त्रालयहरूसँग समेत अन्तरक्रिया गरि सहकार्यको वातावरण बनाउँदै गएको सोङको भनाई छ ।

यसअघि मङ्गलवार मन्त्री भण्डारीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्पसन सँग शिष्टाचार भेट भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button